प्रस, वीरगंज, ७ असार/
पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको ५३औं दिनपछि सोमवार ५४औं दिनदेखि बजार पूर्णरूपमा सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिशमा असार १३ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिए पनि बजार बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेपछि आजदेखि बजार सञ्चालनमा आएको हो । वैशाख १६ गतेदेखि पर्सा जिल्लामा निरन्तररूपमा निषेधाज्ञा लम्बिंदै छ । निषेधाज्ञा जारी भएपनि वीरगंज महानगरबाहेक ग्रामीण क्षेत्रमा शुरूदेखि नै यसको असर फितलो रहँदै आएको थियो ।
ग्रामीण क्षेत्रमा सवारीसाधनबाहेक सबै सञ्चालनमा थिए । पछिल्लो चरणमा सार्वजनिक सवारीसाधनबाहेक जिल्लाभरि निजी सवारीसाधन निर्बाध सञ्चालनमा छन् । जिल्ला प्रशासन कार्यालय, पर्साले निजी सवारीसाधनमा सोमवारदेखि जोर–बिजोर प्रणाली लागू गरे पनि मोटरसाइकल सञ्चालनमा छुट दिएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सोमवारदेखि सबैखाले निजी सवारीसाधन सञ्चालनमा छुट दिए पनि जिप्रका, पर्साले सोमवार बिहान सूचना प्रकाशित गरी मोटरसाइकलबाहेक अन्य निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।
निषेधाज्ञा लागू भएदेखि वित्तीय संस्थाहरू आंशिकरूपमा सञ्चालनमा थिए भने आजदेखि पूर्णरूपमा खुलेका छन् । यसैगरी, सोमवारदेखि सरकारी कार्यालयहरू पनि सञ्चालनमा आएका छन् । कतिपय सरकारी कार्यालयले आपूmले दिने सेवाबारे सार्वजनिक सूचना जारी गरेका छन् । सरकारी कार्यालय सञ्चालन भएको आज पहिलो दिन जिल्ला प्रशासन कार्यालयमा भीड नभए पनि मालपोत कार्यालय पर्सामा भीड बढेको थियो । त्यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दूरी कायम गरिएको देखिएन । भीड बढी भएकोले कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दूरी कायम गराउनेतर्पm खासै चासो देखाएन ।
महानगरका सबै पसल सञ्चालनमा आए पनि पहिलो दिन आशाप्रदरूपमा ग्राहकहरू नआएको व्यवसायीहरूले बताए । लामो समयपछि पसल खुलेकाले कतिपय पसले सरसफाइमा जुटेका
थिए ।