प्रस, रौतहट, ७ असार/

रौतहट जिल्लामा निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्मको लागि लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र रौतहटको सोमवार बसेको बैठकले असार १४ गते राति १२ बजेसम्म पुनः एक साता निषेधाज्ञालाई निरन्तरता दिने सिफारिश गरेबमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकार इन्द्रदेवप्रसाद यादवले जारी निषेधाज्ञालाई थप गर्दै असार १४ गतेसम्म पु¥याएका हुन् ।

निषेधाज्ञा एक साताको लागि लम्ब्याइए पनि यसअघिभन्दा खुकुलो पारिएको छ । रौतहटमा सार्वजनिक यातायातसमेतलाई जोर–बिजोर प्रणालीमा सञ्चालनमा ल्याइएको छ । जिल्लाभित्र सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिइएको छ भने सबैखाले निजी सवारीसाधन जिल्लाभित्र सञ्चालन गर्न पाइनेछ ।

खाद्य, औषधि र स्वास्थ्यसम्बन्धी पसलहरू नियमित सञ्चालन गर्न पाइनेछ भने मानिसको भीडभाड नहुनेगरी सरकारी, सार्वजनिक, निजी कार्यालय, निकायहरूले सेवाप्रवाह, कार्यालय सञ्चालन गर्ने गराउने र सोको उपयुक्त व्यवस्था सम्बन्धित कार्यालयका प्रमुखले मिलाउनुपर्ने व्यवस्था गरिएको छ ।

औषधोपचार, अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिंड्डुल गर्न पूर्ववत् निर्णय अनुसार रोक लगाइएको छ । सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाटबजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय सञ्चालनमा रोक कायमै छ ।
मालवाहक सवारीसाधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दानालगायत ढुवानीका सवारीसाधनहरू, आइसोलेशन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

विकास निर्माणका कार्यहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने र निर्माण सामग्रीको ढुवानीको व्यवस्था मिलाइएको छ । गौर बजार यसअघि सञ्चालनमा आइसकेको छ । होटल एवं रेन्टुराँहरूलाई खुला गर्न दिइएको छ तर होटल एवं रेस्टुराँ सञ्चालकले ग्राहकलाई सामान दिएर पठाउनुपर्ने र होम डिलिभरी गर्न पाउने मात्र व्यवस्था गरिएको छ । बसाएर खानपिन गर्न निषेध गरिएको छ ।

उद्योग, कलकारखानाहरूले कर्मचारी एवं श्रमिकहरूलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी एवं स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उद्योग सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ । गौरको मुख्य नाकाबाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा भने पूर्ववत् लगाइएको रोकलाई निरन्तरता दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here