काबुल, ७ असार/सिन्ह्वा

अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तका दुर्ई जिल्लालाई पुनः नियन्त्रणमा ल्याएको छ । उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हाडी नजारीले गएराति सेनाले कारबाई गरी दुर्ई जिल्लालाई पुनः सरकारी सेनाको नियन्त्रणमा ल्याएको जानकारी दिए ।

सेनाले नियन्त्रण कायम गरेका जिल्लाहरूमा घार र बांगी रहेका छन् । यी दुई जिल्लालाई केही दिनअघि तालिबानी विद्रोही समूहले आफ्नो नियन्त्रणमा ल्याएको थियो । सैनिक प्रवक्ता नजारीले सेनाको कारबाईका बारेमा विस्तृत विवरण भने दिएका छैनन्, तर उनले दुवै जिल्लामा सेनाको नियन्त्रण कायम भएको बताए ।

अफगानिस्तानका विद्रोही तालिबान लडाकू समूहले उत्तरी तालुकान प्रान्तका केही जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । उनीहरूले तखार प्रान्तको राजधानी तालुकानमाथि पनि दबाब सिर्जना गरिरहेका छन् । सेनाले गरेको पछिल्लो कारबाईका बारेमा तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्रै अमेरिकी र नेटो आबद्ध सैनिकहरू फिर्ता हुन लागेसँगै अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानले देशभर थप हिंसात्मक कारबाई थालेको छ । पछिल्लो एक महीनाभित्रै तालिबानले देशका ५० भन्दा बढी जिल्लालाई आफ्नो नियन्त्रणमा लिइसकेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here