साओ पाओलो, ७ असार/सिन्ह्वा
ब्रजीलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख नाघेको छ । यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढी मानिसको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट १ हजार २५ जनाको निधन भएको हो ।
ब्रजीलमा कोरोना भाइरसको सङ्क्रमण शुरू भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ५ लाख नाघेको छ । यहाँ सन् २०२० फेबु्रअरी २६ बाट शुरू भएको कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म अर्थात सन् २०२१ जून २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्रजीलको स्वास्थ्य मन्त्रालयले आइतवार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
हिजो आइतवार ब्रजीलका सञ्चारमाध्यमहरूले पनि ब्रजीलमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख नाघेको जानकारी दिएको थियो । गत २४ घण्टामा ब्रजीलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्थानीय समय अनुसार सोमवार जानकारी दिएको छ ।
यो सङ्ख्यासँगै ब्रजीलमा कुल सङ्क्रमितको सङ्ख्या करीब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जनाएका छन् । ब्रजीलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरूको सङ्ख्या केही घटिरहेको भएपनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।
यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरस देखिएपछि पछिल्ला केही महीनामा सङ्क्रमितहरू झन् बढ्न थालेका छन् । ब्रजीलको साओ पाओलो शहर शुरूदेखि नै यो सक्रङ्मणको एक किसिमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ ।
ब्रजील कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रूपमा परेको छ । यहाँका ८ करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । रासस