- श्रीमन्नारायण
आज सातौं अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ विश्वभरि मनाइँदै छ । निशुल्क अथवा अति नै न्यून खर्चमा अनेकौं शारीरिक रोगहरूको उपचार यसबाट सहज सम्भव हुने भएकोले यसप्रति आकर्षण बढ्दै गएको छ । नियमित योग गर्नाले रोगको सम्भावना नै समाप्त हुन सक्छ । योगको माध्यमबाट विश्वका करोडौं मानिस लाभान्वित भएका छन् ।
वर्तमान अवस्थामा योग विज्ञान जति महत्वपुर्ण साबित भइरहेको छ, यसभन्दा अघि यो कहिल्यै यति बढी महत्वपुर्ण ठानिएको थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन्, जो विश्वको निर्माण एवं विध्वंस दुवै गर्न सक्षम छ र गरिरहेको छ पनि । यस्तो अवस्थामा यो निकै महत्वपुर्ण हुन जान्छ कि हामीमा जीवनप्रति जागरुकता र यस्तो भाव कायम रहोस् जसले हामी प्रत्येक प्राणीमा आफ्नै शरीरको अंश रहेको अनुभूति गर्न सकौं ।
यदि मानवजातिले जीवनमा एकात्मकता र योगलाई बुझेका छन् रत्यसको अनुभूति गरिरहेका छन् भने विश्वमा अवश्य पनि ठूलो परिवर्तन आउन सक्छ । जीवनप्रति दृष्टिकोणमा परिवर्तन ल्याउन ल्याउन सकियो भने मानव जातिको सबै खाले समस्याको समाधान सम्भव छ । मानव कल्याण एवं आत्मिक विकासको दिशामा यसले ठूलो परिवर्तन ल्याउने निश्चित छ ।
योगमा तनावरहित मस्तिष्क एवं स्वस्थ्य शरीरको मूल तत्व केन्द्रित हुन्छ ।
योग भनेको जोड्नुृ हो । योगमा प्रेम, अहिंसा, करुणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढ्ने भाव केन्द्रित हुन्छ । आन्तरिक एवं आत्मिक विकास तथा मानव कल्याणसँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताको निम्ति ठूलो निधि साबित हुन सक्छ ।
योग हाम्रो परम्परा हो । नेपाल एवं भारत दुई छुट्टाछुट्टै स्वतन्त्र अस्तित्व भएका देश अवश्य पनि हुन् तर हिन्दू धर्म, संस्कृति, पुराण, वेद, उपनिषद, देवी देवता, तीर्थस्थल, महान् ऋषिमुनिहरू हाम्रा निम्ति एक समान पूजनीय, आदरणीय एवं प्रातःस्मरणीय छन् । योगबारे विश्वलाई अवगत गराउने काम विगतमा पनि नभए होइन तर त्यो साह्रै सीमित थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो अमेरिका यात्राको क्रममा संयुक्त राष्ट्रसङ्घमा योगको महत्व बताए अनि यसले विश्वव्यापी मान्यता हासिल ग-यो । फलस्वरूप इस्लामिक देशहरूसहित विश्वका झन्डै २०० देशले अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएका छन् । साउदी अरब र इरानजस्ता कट्टर इस्लामिक देशहरूमा पनि राजकीयस्तरबाट यस दिवसको आयोजना हुन्छ ।
हाम्रा महान् ऋषिमुनिहरूप्रति पनि हामीले कृतज्ञता ज्ञापन गर्नुपर्छ । सनातन धर्म एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ । जसमा योग, शाकाहारी जीवनशैली, सत्य, अहिंसाको प्रयोग जस्ता विषय पनि छन् । गणित, विज्ञान एवं खगोलको क्षेत्रमा पनि यसले विश्वलाई धेरै थोक दिएको छ । योग शरीर एवं मनलाई स्वस्थ राख्ने एउटा वैज्ञानिक माध्यम हो । भनिन्छ मार्शल आर्टका जनक पनि हिन्दू र बौद्ध सन्तहरू नै थिए । हिन्दू संस्कृति जस्तै यसनान, मिश्र, अरब एवं अनेकौ संस्कृतिहरूले विश्वलाई केही न केही अमूल्य निधि प्रदान गरेका छन् । शून्य र दशमलवको प्रयोगको थालनी पनि यहींबाट भएको हो ।
योगका सूत्रहरूमा आस्था एवं अन्धविश्वासको निम्ति ठाउँ छैन यो पनि गणित र विज्ञानजस्तै प्रयोगमा आधारित छ । प्रयोगबाटै विश्वास गर्न सकिन्छ । दर्शन एवं विज्ञान सङ्कीर्ण हुनै सक्दैन । योग परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो । अस्तित्व अनन्त र असीमित छ । हामी सबै एकाइ मात्र हौं, जबकि अस्तित्व सम्पूर्ण । एकाइ हुनु दुःख हो भने अनन्त हुनु आनन्द । योगले एकाइमा आनन्दको अनुभूति हुने गर्दछ । योगको सोझो अर्थ हो जोड्नु ।
पतञ्जलि (ईसापूर्व १८४–१८५) ले योग सूत्र लेखेका थिए तर योग पतञ्जलिभन्दा पनि प्राचीन हो । मनुष्य एवं ब्रह्माण्डको एकात्मक दर्शनको यो विज्ञान भारत वर्षबाटै शुरू भएको हो । विश्वका अनेकौं देशले यसलाई अँगाले तथा यसलाई योगको ठाउँमा योगा भन्ने गरे । योग विज्ञानले अन्तर्राष्ट्रिय महŒव एवं मान्यता पाउनुबाट खुशी मान्नुपर्ने हो । योगको विस्तार एवं प्रभावसँगै यस क्षेत्रको महत्व पनि बढ्ने छ ।
मीमांसा, न्याय वैदेशिक सांख्य वेदान्त एवं योग भारत वर्षका ७ प्राचीन दर्शन हुन् । बुद्ध र जैन दर्शनको थालनी पनि यहींबाट भएको हो, तर सांख्य एवं योग प्राचीन दर्शन हो । स्वस्थ शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो । शायद त्यही भएर वैदिक ऋषिहरू काम गर्दागर्दै एक सय वर्षसम्म बाँच्दथे ।
२१ जूनका दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुन्छ । सम्भवतः यसै कारणले राष्ट्रसङ्घले यस दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको हो । यसभन्दा पहिले सन् २०११ मा भारतको दक्षिणी प्रान्त बेंगलुरूमा विश्वका केही योगगुरुहरूको बैठकमा पनि २१ जूनका दिन योग दिवस मनाउने निर्णय गरिएको थियो ।
सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षयस्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । हामी योगको पद्धति एवं त्यसको परिणामलाई सोझोरूपमा ऊर्जासँग जोडेर हेर्ने गर्दछौं । यथार्थमा त योगको अर्थ जोड्नु हुन्छ । ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो, कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु । जसमा जति जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ त्यो त्यति नै क्षमतावान कहलिन्छ । ऊर्जामा वृद्धिको निम्ति मात्रै जोडिनु पर्याप्त होइन । त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्दछ । एक आपसमा जोडिनेहरूको दिशा पनि एउटै हुनुपर्दछ । जोड्नु त्यति बेला मात्रै सम्भव हुन सक्छ जब दुवैको दिशामा एउटै होस् । जोडिएपछि दिशा भिन्दाभिन्दै भयो भने ऊर्जाको क्षरण मात्र हुन्छ ।
योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई उसको क्षमताको उच्चतम विन्दुसम्म पु¥याउनु हो । यसको निमित्त योगले दिशा तथा जोडनुको सिद्धान्तलाई सँगसँगै लिएर हिड्ने गर्दछ । योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनैलाई कुनै एउटा निश्चित विन्दुसम्म एकजुट गर्ने प्रक्रिया पनि हो । ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्लाबेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीनवटैलाई प्राप्त भइरहेको हुन्छ ।
योगमा मनलाई प्राण (श्वास) सित सामञ्जस्य स्थापित गरिन्छ । यसको परिणामस्वरूप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिक रूपमा बढी प्रबल हुन्छ अपितु उसको शारीरिक स्वास्थ्यमा पनि वृद्धि हुन्छ । जब व्यक्ति यी तीनैमाथि नियन्त्रण स्थापित गरी कुनै काममा आफुलाई लगाउँछ अनि कार्यको गुणस्तर तथा सङ्ख्यामा पनि कैयौं गुणा वृद्धि हुन जान्छ । यो नै सूर्यको ऊर्जा एवं योगको पद्धतिसँगको सम्बन्ध हो ।
आम मान्यता यही छ कि महर्षि पतञ्जलिले नै आधुनिक योगको आधार खडा गरेका थिए, तर बृहदारण्यक उपनिषद्मा श्वासमाथि नियन्त्रण गर्ने विषयमा विस्तारपूर्वक वर्णन गरिएको पाइन्छ । हाम्रा पुर्खाहरूले अशान्त मनलाई शान्त पार्नका निम्ति यस पद्धतिको आविष्कार गरेका थिए । अहिले विश्वका चिकित्साशास्त्रीहरूले वर्तमान जीवन शैलीलाई प्रत्येक रोगको कारण मानेका छन् तर यसको सरल समाधान भनेको योग नै हो । योग हाम्रो धरोहर हो र यसमाथि हामीले गर्व गर्न सक्नुपर्दछ ।
बेरोजगारी युवाहरूका निम्ति यो एउटा नयाँ अवसर पनि साबित हुन सक्दछ । कठिन परिश्रम गरेर विदेशमा केही सीमित पैसा कमाउनुभन्दा मान सम्मानसहित स्वदेशमैं काम गर्न के को लाज ? योगलाई अन्य धर्मावलम्बीहरूले आत्मसात् गरी यसबाट लाभ उठाउन सक्छन् । भाषा, बोली, पहिरन, पानी, जमीन तथा जीवनको कुनै धर्म हुँदैन । ११ डिसेम्बर २०१४ मा संयुक्त राष्ट्र सङ्घ महासभाले आफ्नो प्रस्तावमा भनेको छ–“योगले मानव स्वास्थ्य एवं स्वस्थ जीवनशैलीबारे समग्र दृष्टिकोण व्यक्त गर्दछ । यसबाट हुने लाभको प्रसार विश्व जनसंख्याको निम्ति कल्याणकारी साबित हुनेछ ।” संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले पनि योग विचार तथा कर्मको सामञ्जस्य तथा स्वास्थ्यको लागि आवश्यक बताएका छन् ।
मुनले भनेका छन्–योगबाट शान्ति एवं विकासमा योगदान मिल्दछ । यसले मानिसलाई तनावमुक्त गर्दछ । उनले सबै सदस्य देशसँग योगलाई प्रोत्साहन गरी सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
विश्वका अनेकौं देश तथा विश्वविद्यालयहरूमा अनुसन्धानमार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग मानसिक तनावबाट बचाउ गर्नुका साथै शारीरिक स्वास्थ्य र मानसिक शान्ति प्रदान गर्न सक्षम छ । अमेरिकाको विश्वप्रसिद्ध वोस्टन विश्वविद्यालयको स्कूल अफ मेडिसिनद्वारा मई २०१२ मा प्रकाशित मेडिकल हाइपोथिसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटनापश्चात् तनावमुक्त भई सामान्य जीवन बाँच्न योग निकै प्रभावशाली साबित हुन सक्दछ । किनभने योग सेन्ट्रल नर्भस सिस्टमको आधार मानिएको तन्त्रिका भेगर्स नर्भलाई प्रचुर मात्रा ऊर्जा प्रदान गर्दछ । त्यसैगरी हावर्ड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई सामान्य जनरोग समाधानमा सर्वाधिक सक्षम मानेको छ ।
योगले पश्चिमा मानसिकताबाट प्रभावित तथा कथित आधुनिक सोचको तीनवटै आयाम बदलिदिन्छ । पश्चिमाहरू शारीरिक समस्याको समाधान बाहिरबाट हुन्छ भने मान्यता राख्दछन्, योगले भने यसको समाधान मुख्यतः शरीरभित्रबाट हुने बताउँछ । सङ्घर्ष गरेर मात्रै सुख र शान्ति हासिल गर्न सक्छौं भन्ने धारणाविपरीत योगले प्रकृतिसँग तादात्म्य स्थापित गरेर पनि हामी सुख र शान्ति प्राप्त गर्न सक्दछौं भन्दछ ।
मानसिक व्यवस्था कायम गरी रोगरहित हुनका लागि रोगको उपचार गर्नुपर्ने मान्यताविपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी धेरै हदसम्म रोग लाग्न दिनबाट रोक्न सकिन्छ । योग एउटा यस्तो माध्यम हो जसले विनाधन खर्च गरी व्यक्तिलाई स्वास्थ्य प्रदान गर्न सक्दछ । यो निर्धन वर्गको निम्ति वरदान साबित हुन सक्दछ । त्यसैले योग गरौं हामी र निरोगी बनौं ।