प्रस, परवानीपुर, ६ असार/
वीरगंजका होटल व्यवसायीले कर छुटको माग गर्दै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजले कोरोना महामारीको कारण प्रभावित भएका होटल व्यवसायीलाई निषेधाज्ञा अवधिभरको विभिन्न कर छुट गर्न वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो ।
आइतवार दिउँसो २ बजे सङ्घका अध्यक्ष हरि पन्तले बुझाएको ज्ञापनपत्रमा सम्पूर्ण आवासीय होटल तथा पार्टी प्यालेसले अर्जेको घरको घरबहाल कर र होटल व्यवसायको वार्षिक व्यावसायिक कर तथा सरसफाइ शुल्क एक आर्थिक वर्षको लागि छुट दिनुपर्ने माग गरिएको छ ।
त्यस्तै, ज्ञापनपत्रमा वीरगंज क्षेत्रका होटल तथा पर्यटन व्यवसायका सञ्चालकसमेत कार्यरत कर्मचारीहरूलाई कोरोना सङ्क्रमणविरुद्धको खोप यथाशक्य चाँडो उपलब्ध गराउन पनि माग गरिएको छ ।
ज्ञापनपत्र बुझेपछि व्यवसायीहरूको मागलाई यथासक्य सम्बोधन गर्ने आप्mनो प्रयास रहने नगरप्रमुख सरावगीले आश्वासन दिए ।
उनले व्यवसाय कर छुट दिन खासै समस्या नभए पनि सरसफाइ कर र घरबहाल करमा भने कानूनी जटिलता रहेकाले यस विषयमा कार्यपालिकामा प्रस्ताव पेश गर्ने तथा नगरसभाबाट समस्या समाधानको खोजी गरिने बताए ।
महानगरपालिकाका व्यवसायीहरूलाई विस्थापित गर्ने मनसाय महानगरको नरहेको बताउँदै उनले व्यवसाय संरक्षणका लागि स्थानीय तहको सरकारको हैसियतले गर्न सक्ने सहयोग गर्ने उनले बताए । नगरप्रमुख सरावगीले होटल तथा पर्यटन व्यवसायीहरूले राखेका कर छुटको मागमा आपूm सकारात्मक रहेको चर्चा गरे ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा अध्यक्ष पन्तसहित महासचिव माधव बस्नेत, सदस्यहरू शेखर चौधरी, हीरा श्रेष्ठ, सुरेश साहलगायतको सहभागिता थियो ।