प्रस, निजगढ, ६ असार/
निजगढ नगरपालिका सिगौलबाट सशस्त्र वनरक्षकको टोलीले शनिवार राति अटोसहित काठको कडी बरामद गरेको छ ।
ना.३स ९४७० नम्बरको अटोमा ३३ थान काठको कडी ल्याउँदै गरेको सूचनाको आधारमा वन कर्मचारीले सो अटो नियन्त्रणमा लिएका थिए । निजगढ सबडिभिजन वन कार्यालय भमराका सशस्त्र वनरक्षक जमदार मङ्गलप्रसाद साह कमान्डको टोलीले राजमार्गस्थित सामुदायिक वनक्षेत्रमा लुकाइएको अवस्थामा काठसहित अटो बरामद गरेको बताइएको छ ।
अटो चालक र तस्कर भने भाग्न सफल भएका थिए । सुराकीको आधारमा अटो र काठ बरामद भएपनि तस्करहरू भाग्न सफल भएको र उनीहरूको पहिचान गरी खोज्ने काम गरिने डिभिजन वन कार्यालय बाराका डिएफओ मन्जुर अहमदले बताए ।