प्रस, वीरगंज, ६ असार/

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टील उद्योगको फर्निस आयल राखेको टङ्की पड्किएर आगलागी हुँदा दुईजना भारतीय मजदूरको मृत्यु भएको छ ।

भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको उद्योग सञ्चालक पवन गुप्ताले बताए । हिजो राति करीब ८ बजे सो दुर्घटना भएको र उद्योगमा कार्यरत राजकुमार विक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं गरी तीनजना मजदूर पनि घाइते भएका छन् । घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । उनीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

फर्सिङ आयल रहेको टङ्की पड्किएपछि उद्योगमा आगलागी पनि भएको थियो । जीतपुरसिमरा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगंजको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । समयमैं आगलागी नियन्त्रणमा आएकोले छेउमैं रहेको अर्को फर्निस आयलको टङ्कीमा क्षति नपुगेको सञ्चालक गुप्ताले बताए ।

उद्योगमा फलाम तताउने भट्टीछेउमा रहेको फर्निस आयलको टङ्की पड्किएर आगलागी भएको उनले बताए । वेल्डिङ गर्ने क्रममा टङ्कीको ढक्कन खुला नगरिएको कारण ग्याँसको चापले पड्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको सञ्चालक गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here