प्रस, मकवानपुर, ६ असार/

हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम अनुदान सहयोग गरेको छ । आँखा जाँच मेशिन खरीदका लागि अस्पताललाई उपमहानगरले सहयोग गरेको छ ।

      आइतवार आयोजित विशेष कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सहयोगबापतको चेक अस्पताललाई हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिकाले वार्षिक कार्ययोजना अनुसार नै अस्पताललाई सहयोग प्रदान गरिएको नगरप्रमुख महतले बताए ।

अस्पतालमा मेशिन अभाव हुँदा बिरामी जाँच गर्न समस्या परेको थियो । मेशिन उपलब्ध भएपछि आँखा परीक्षण कार्य प्रभावकारी र सहज हुने हुँदा सोको प्रत्यक्ष फाइदा हेटौंडाका बासिन्दालाई हुने प्रमुख महतले विश्वास व्यक्त गरे ।

     नगरप्रमुख महतले आँखा अस्पतालमा बिरामीको चाप बढेसँगै अस्पतालको सेवालाई गुणस्तरीय, प्रभावकारी र सहज बनाउन स्थानीय सरकारको दायित्व पनि भएकोले अस्पतालसँग सहकार्य र सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्धता जाहेर गरे ।

      हेटौंडा सामुदायिक आँखा अस्पतालमा विशेषगरी मकवानपुर, चितवन, काठमाडौं जिल्लाको दक्षिणी भेग, सिन्धुलीका साथै बारासहित प्रदेश नं २ का विभिन्न जिल्ला र भारतबाट आँखाका रोगीहरू सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here