गोपालप्रसाद बराल
महोत्तरी, ६ असार/रासस

“हे भोलेबाबा बुझायत अछि जे आववाला दिनमे अहाक् दर्शन भेटत नई भेटत ?” (हे महादेव, लाग्दछ, अबका आउने दिनमा तपाईंको दर्शन पाइन्छ, पाइन्न ?) जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित प्राचीन शिवालय सिद्धनाथ मन्दिरलाई बडहरी नदीको बाढीले ढालेको डिलमैं उभिएर नजीकको पलार बस्तीकी श्रद्धालु सियानकीदेवी बाँतरले दुःख पुकारा गरिन् ।

“किछेसाल पहिने बड्का प्लटके बीचमे मन्दिर छल, आब मन्दिरक क्षेत्र बाइढ स ढहल जारहल अई, बुझायत अछि जे ऐगला सालधैर मन्दिर गिर जाइत” (केही वर्ष पहिले ठूलो चौरको माझमा मन्दिर थियो, अब त मन्दिर क्षेत्र बाढीले ढाल्दै गएको छ, लाग्दछ, आउने दिनमा मन्दिर ढलिसक्ला), बाँतरले मन्दिरबारे थप चिन्ता व्यक्त गरिन् ।

बाँतर मात्र नभएर भङ्गाहा नगरका सिद्धपुर, पलार, बखरी र हतिसर्वा बस्तीको माझमा रहेको यो प्राचीन शिवालयबारे यस भेगका आम सर्वसाधारण बर्सेनिको बाढीले मन्दिर क्षेत्रमा मच्चाएको ताण्डवले विह्वल बनेका छन् । असार लाग्नासाथ अहिले दिनहुँ पानी परिरहेपछि मन्दिर यसपालिकै बर्खाले ढाल्ने हो कि भन्ने आम चिन्ता छ ।

महोत्तरीको अति प्राचीन धार्मिकस्थल भङ्गाहा–५ को सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिरको बाढीकै कारण अस्तित्व सङ्कटमा परेपछि यसबारे अहिले आम चिन्ता बढेको छ । रातु र बडहरी नदीको सङ्गम (दोभान)स्थित यो मन्दिर पछिल्ला केही वर्षयता बर्सेनि बाढीले कटान गर्दै लगेपछि अब मन्दिर नै ढल्ने चिन्ताले यहाँका सर्वसाधारण विह्वल बनेका हुन् ।

दुवै नदी (रातु र बडहरी) किनारको करीब ३० बिघाभन्दा बढीको चौरमाझमा रहेको यो मन्दिर अहिले बर्सेनिको नदी कटानले नदीको डिलमा पुगेको छ । मन्दिर परिसरमैं नदीको पानी बग्न थालेपछि अब जुनसुकै बेला मन्दिर ढल्ने वा बग्ने स्थिति बनेको सिद्धपुर बस्तीका सामाजिक कार्यकर्ता शङ्कर साह चिन्ता व्यक्त गर्छन् ।

रातु र बडहरी नदीमा आउने बर्खे भेलले मन्दिरको उत्तर र पश्चिम डिल ढालिसकेको छ । पूर्व र दक्षिणतर्पmको मन्दिर परिसरको चौर अतिक्रमण गरिएपछि अब मन्दिर सानो कोप्चोमा ठिङ्ग उभिएको देखिन्छ । नदी नियन्त्रणका लागि तटबन्ध नबन्दा र अतिक्रमण हटाउन कतैबाट पहल नहुँदा मन्दिरको बिजोग भएको नजीकैको अर्को बस्ती पलारका ७५ वर्षीय चौठी बाँतरले गुनासो गरे ।

करीब ३०० वर्षअघि एक दुधारीबाबा नामका साधुले सपनामा पाएको सन्देश अनुसार खोजी गर्दै जाँदा घना जङ्गलबीच शिवलिङ्ग फेला पारेर त्यसको प्रतिष्ठा गरेर सिद्धनाथ महादेव नामकरण गरेका यहाँका बूढापाका आप्mना पूर्वजले भन्दै आएका सम्झन्छन् । “दुधारीबाबाले पत्ता लगाएर प्रतिष्ठा गरेपछि यो मन्दिरमा सर्वसाधारणले पूजाआराधना शुरू गरेका हाम्रा बाजेले बताउनुभएको हो,” आपूm सानो छँदा बाजेले मन्दिरबारे बताएका कुरा सम्झँदै पूर्वप्रशासक भङ्गाहा–३ का ८० वर्षीय तेजनारायण सिंह थारूले भने, “यो प्राचीन धार्मिक धरोहरको अहिलेको बिजोग हेर्दा मन अड्याउने ठाउँ देखिन्न ।”

जिल्लाकै अति प्राचीन यो मन्दिरका लागि विगतमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष), तत्कालीन जिल्ला विकास समिति र भङ्गाहा गाविस  (नगरपालिका बन्नुपूर्व)ले बेलाबेलामा योजना बनाएको बताए पनि ठाउँठाउँमा बालुवा थुपार्नबाहेक केही नगरेका सिद्धपुरका बासिन्दाको गुनासो छ । हुँदाहुँदा अब त सबैतिरको बेवास्ताले मन्दिर रहने नरहने स्थितिमा पुगेको सिद्धपुरका ३५ वर्षीय युवा विनोद मण्डल चिन्ता व्यक्त गर्छन् ।

महाशिवरात्रि र साउन महीनाभरि यहाँ लाग्ने धार्मिक मेलाको ठेक्का लगाएर नगरपालिकाले आम्दानी लिने गरे पनि टाढाटाढाबाट आउने श्रद्धालु दर्शनार्थीका लागि खानेपानी, बासस्थान (धर्मशाला) र प्राथमिक उपचारसम्मको पनि कुनै व्यवस्था नभएको सिद्धपुरका बासिन्दाको रोष छ । “अब त मन्दिरसँगसँगै बडहरी नदीले सीतापुर धतियाटोल र सिद्धपुर बस्ती नै लाने डर छ, घरकै छेउमा नदी बग्न थाल्यो,” भङ्गाहा–५ कै सामाजिक, राजनीतिक कार्यकर्ता किशोरीसिंह राजपूतले भने, “बचाउका उपाय भने केही चालिएका छैनन्, आकाशमा बादल मडारिएको देखेपछि हामी जागेरै रात कटाउँछँैं ।” अहिले लाग्दो असारकै वर्षाले हावाकावा बनाएको बताउँदै सिंहले साउन÷भदौको मुख्य बर्खाकालमा के होला ? भन्दै चिन्ता व्यक्त गरे ।

यसैबीच, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले मन्दिर परिसर, सीतापुर धतियाटोल र सिद्धपुर बस्ती बचाउका लागि छड्के बाँध्ने (ढुङ्गा जालीमा बाँधेर कटान रोक्न गरिएको काम) गरिंदै आइए पनि यो त्यति उपलब्धिमूलक नभएको बताए ।

“पहिले पनि त्यतिखेरका निकायले धार्मिकस्थल बचाउन ठाउँठाउँमा छड्के त बाँधेका हुन्,” साहले भने, “हामी निर्वाचित भएर आएपछि पनि स्रोत साधनको सीमितताभित्र केही कामका प्रयत्न विभिन्न निकायको समन्वयमा गरिएको हो, तर बर्खे भेलले यी प्रयत्नलाई उपलब्धिविहीन बनाउँदैछ ।” यहाँ मन्दिर र बस्ती बचाउन छड्केले मात्र सम्भव नहुने देखिएको हुँदा अब दुईतर्फी तटबन्ध निर्माण नै स्थायी समाधान हुने साहको भनाइ छ ।

यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको समान चासो आवश्यक रहेको साहले बताए । नगरपालिकाको सीमित बजेट रकमले मात्र यस ठाउँमा उपलब्धिमूलक काम हुने अवस्था नरहेको साह बताउँछन् ।

मन्दिर परिसरको संरक्षणका नाममा बर्सेनि रकम विनियोजन भएपनि ठोस काम नहुँदा अब केही होला भन्ने विश्वास लाग्न छाडेको वरपरका सर्वसाधारण बताउँछन् । “सधैंजसो बर्सेनि बर्खा लाग्न थालेपछि केही थान जाली र ढुङ्गा झारिन्छन्, बाँध्न थालेजस्तो भनक पाइन्छ, तर उस्ताको उस्तै,” मन्दिरनजीकको रामनगर बस्तीकी हीरादेवी दाहाल भन्छिन्, “टालटुले कनिका छर्काइले यहाँ केही हुने देखिन्न ।” यो प्राचीन धार्मिकस्थल र नजीकका बस्ती जोगाउन अब तटबन्धबाहेकका विकल्प नदेखिएको दाहालको भनाइ छ ।

यसअघि पनि मन्दिर संरक्षणका नाउँमा कैंयनपटक योजना बनेको बताइए पनि काम भने नहुँदा अब कुरामा विश्वास लाग्न छाडेको सिद्धपुरका बासिन्दाको भनाइ छ । “कुरा त सुनेकौ हौं नि, काम भएपो भयो भन्ने बुझ्नु,” सिद्धपुरका ७० वर्षीय सोगारथ साहले भने, “हामीलाई त कुरामा विश्वास लाग्नै छाड्यो ।” यस भेगका बासिन्दाले अब मन्दिर र नजीकका बस्ती जोगाउन स्थानीय तहले प्रदेश र केन्द्र सरकारसहितका अन्य सम्बद्ध निकाय घचघच्याउनुपर्ने आवश्यकता देखिएको औंल्याएका छन् । नगरपालिका नेतृत्वले तत्काल यसको पहलकदमी लिनुपर्ने आम सर्वसाधारणको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here