प्रस, वीरगंज, ६ असार

वीरगंज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्णलाई आइतवार विद्यार्थीहरूले एक घण्टा उनैको कार्यकक्षमा थुनेका छन् । कोरोना सङ्क्रमणकालमा आवश्यक तयारी विना नगर क्षेत्रका विद्यालय सञ्चालन गराउन खोजेको भन्दै विद्यार्थीहरूले शिक्षा महाशाखा प्रमुख कर्णलाई बिहान ११ः३० देखि १२ः३० बजेसम्म १ घण्टा कार्यकक्षमैं थुनेका थिए ।

केही दिनअघि संयुक्त विद्यार्थी सङ्घर्ष समितिले भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने मोडल र मापदण्डका बारेमा प्रस्ट पार्नुपर्ने, विद्यार्थीका विषयमा कुनै पनि निर्णय गर्दा आफूहरूलाई पनि संलग्न गराइनुपर्ने लगायतका माग राख्दै शिक्षा महाशाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

ध्यानाकर्षणका बावजूद पनि महाशाखा प्रमुख कर्णले विद्यार्थीको हितविपरीत काम गर्न लागेपछि बाध्य भएर उनलाई कार्यकक्षमैं थुन्नुपरेको संयुक्त विद्यार्थी सङ्घर्ष समितिका प्रवक्ता हेमन्त तामाङले बताए ।

सङ्घर्ष समितिका संयोजक विकास तिवारी नेतृत्वको विद्यार्थी टोलीले कर्णलाई कार्यकक्षमा थुनेको हो । विद्यार्थीहरूले महाशाखा प्रमुखको कार्यकक्षमा ताला लगाउँदै ‘शैक्षिक माफिया मुर्दाबाद’, ‘विद्यार्थीको स्वास्थ्यसँग खेलबाड गर्न पाइँदैन’, ‘नालायक शिक्षा महाशाखा प्रमुख मुर्दाबाद’लगायतका नारा लगाएका थिए । तालाबन्दीपश्चात् विद्यार्थी नेता कविराज पटेल, एजाज बाबू, धर्मराज यादवलगायतले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै अघि बढ्न स्थानीय सरकारलाई आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here