राधेश्याम पटेल, परवानीपुर, ५ असार/
वीरगंज नाकामा १० महीनादेखि होल्ड २६ करोड मूल्यबराबरको करीब ६० वटाभन्दा बढी सवारीसाधन भित्रिएका छन्।
सरकारले आव २०७८/७९ को बजेटमा विद्युतीय गाडी आयात गर्दा लाग्ने अन्तःशुल्क खारेज गरिदिएपछि आयातकर्ताहरूले होल्ड भएका गाडीहरू धमाधम छुटाउन थालेका हुन्।

वीरगंजको वीरगंज भन्सार र सुक्खा बन्दरगाह भन्सारमा होल्ड भएका ६० वटा कार, जीप, भ्यान र ३५ वटा ईरिक्शा भित्रिएको भन्सार अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार जेठ १५ गतेको बजेट भाषणको भोलिपल्टदेखि जेठ ३१ गतेसम्म १६ दिनमैं ७ करोड ५४ लाख ७१ हजार रुपैयाँ राजस्व तिरेर २६ करोड रुपैयाँबराबरको विद्युतीय गाडी जाँचपास गरी भिœयाइएको हो।

सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी चुडामणि शर्मा कट्टेलले दिएको जानकारी अनुसार सुक्खा बन्दरगाह भन्सारबाट ४५ वटा किया ब्रान्डका गाडी भित्रिएका थिए। त्यसैगरी, वीरगंज भन्सारबाट १५ वटा कार र ३५ वटा तीन पाङ्ग्रे ईरिक्शाको जाँचपास भएको छ। अब सुक्खा बन्दरगाह भन्सारमा बाँकी रहेका १० वटा कार पनि जाँचपास गराएर लग्ने आयातकर्ताहरूको तयारी छ।

विद्युतीय गाडीको आयातमा पहिले भन्सार महसूल ४० प्रतिशत, ब्याट्रीको क्षमता अनुसार ६ देखि ६० प्रतिशतसम्म अन्तःशुल्क र सडक सम्भार दस्तुर ५ प्रतिशत लाग्थ्यो भने आगामी आवको बजेटमा जारी गरिएको नयाँ व्यवस्था अनुसार गाडीको ब्याट्रीको क्षमता अनुसार १० देखि ४० प्रतिशतसम्म भन्सार महसूल र सडक सम्भार दस्तुर ५ प्रतिशत मात्र लाग्छ।

चालू आवमा अन्तःशुल्क लगाउँदा विद्युतीय गाडीको आयात ठप्प भएको थियो भने आयात गरिएका गाडीहरू प्नि भन्सार बिन्दुमैं अड्केका थिए। अहिले अन्तःशुल्क हटाएपछि नेपालमा विद्युतीय गाडीको आयात बढ्ने सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here