सप्तरी, ५ असार/रासस
सप्तरीमा नौ वर्षीया बालिकाको शनिवार बीभत्स हत्या भएको छ। डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानी कुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए।
परिवारिक सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन्। सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर फूलबारीमा हावाले झारेका आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन्।
प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान गरेका थिए। शव शल्यपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।