प्रस, सप्तरी, ४ असार/
अदालतबाट बलात्कार अभियोग ठहर भई फरार रहेका अभियुक्तलाई १४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय ओमप्रकाश मुखिया हुन्।

मुखियालाई बिहीवार प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो। भैंसी चराउन गएकी दश वर्षीया बालिकालाई चारजनाले सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सप्तरीले अरू दुइजनासँगै मुखियालाई पनि दोषी ठहर गरेको थियो। १४ वर्षदेखि फरार सूचीमा रहेका आरोपित मुखियालाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

सप्तरी जिल्ला अदालतले विसं २०७५ असार ५ गते मुखियासहित उनका सालाहरू तिलाठी कोइलाडी–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमी मुखिया साथै श्यामा र डोमीका बाबु ५५ वर्षीय बिकु मुखियालाई सामूहिक बलात्कारको दोषी ठहर गरेको थियो। उनीहरूलाई जनही १३ वर्ष कैद सजाय तोकिएको छ।

आरोपितहरूले विसं २०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजूरी दिएकी थिइन्। गाउँका आठदेखि १२ वर्ष उमेर समूहका छजना बालबालिका भैंसी चराउन कोशीटप्पु वन क्षेत्रमा गएको बेला अरू बालकलाई कुटपिट गरी डोरीले बाँधेको र होहल्ला गरे ज्यान मार्ने धम्की दिंदै आरोपितहरूले सामूहिक बलात्कार गरेको पीडितकी आमाले दिएको जाहेरीमा उल्लेख छ।

आरोपित चारजनामध्ये श्यामा २०७७ चैत ९ गते पक्राउ भई राजविराज कारागारमा कैद भुक्तान गरिरहेका छन्। श्यामाका दाजु डोमीको मृत्यु भइसकेको छ। उनीहरूका बाबु बिकु भने फरार रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here