प्रस, वीरगंज, ४ असार/
वीरगंजका अस्पतालहरूमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दो छ। हाल अस्पतालमा ३१ जना मात्र सक्रिय सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
कुल ५२ जना सक्रिय सङ्क्रमित पर्सा जिल्लामा रहेकोमा २१ जना होम आइसोलेशनमा र ३१ जना अस्पतालमा उपचारार्थ भर्ना रहेको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत दिनेशकुमार श्रीवास्तवले बताए।
उनले दोस्रो सङ्क्रमणमा पर्सा र बाहिर जिल्लागरी कुल ३२७ जनाको मृत्यु भइसकेको र जेठको अन्तिम सातादेखि वीरगंजमा मृत्यु दर घटेको बताएका छन्। जेठ २५ गते वीरगंजको अस्पतालमा तीनजनाको मृत्यु भएको थियो त्यस उपरान्त यता एकजनाभन्दा बढीको मृत्यु दर देखिएको छैन।
पछिल्लोपटक असार ३ गते एकजना सङ्क्रमितको मृत्यु भएको छ। असारको चार दिनमा एकजना सङ्क्रमितको मृत्यु भएको छ। यसैगरी नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा सङ्क्रमित सङ्ख्या घटेको छ। अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले असार महीनामा सङ्क्रमित सङ्ख्या ७ प्रतिशत मात्र देखिएको बताए।
उनले असार महीनाको ३ गतेसम्म तीन दिनको रिपोर्टमा १८३ वटा स्वाब परीक्षण गर्दा १४ जना सङ्क्रमित थपिएको बताए। थपिएका सङ्क्रमितमा पर्साका पाँचजना मात्र छन्। दोस्रो लहरको कोरोना सङ्क्रमणमा पर्सा जिल्लामा जेठ ३० गतेसम्म ३३८२ जना सङ्क्रमित पुष्टि भएका थिए।
यस अघि पहिलो लहरको कोरोना सङ्क्रमणमा ३१८४ जना सङ्क्रमित थिए भने ५६ जनाको मृत्यु भएको थियो।
वीरगंजका अस्पतालहरूमा ५० जना भन्दा कम सङ्क्रमित भए जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउन सक्ने प्रावधान छ।
यसैगरी सक्रिय सङ्क्रमित सङ्ख्या पाँच सयमुनी देखिएको खण्डमा पनि निषेधाज्ञा हट्न सक्ने प्रावधान रहेको छ। यथा अवस्थामा असार ६ गते राति १२ सम्म जारी निषेधाज्ञा नलम्बिने सङ्केत देखिएको छ।