प्रस, निजगढ, ३ असार/
अस्थायी प्रहरी चौकी निजगढले ६० किलो गाँजा बरामद गरेको घटनामा दुईजना अभियुक्तलाई पक्राउ गरी छाडेको समाचार प्रकाशमा आएपछि जिल्ला प्रहरी कार्यालय, बाराले सोसम्बन्धी छानबीनका लागि कमिटी गठन गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले प्रहरी निरीक्षकको संयोजकत्वमा ६ सदस्यीय छानबीन कमिटी गठन भएको र समितिले अध्ययन पूरा गरी प्रतिवेदन बुझाउने र सोको आधारमा दोषी देखिने प्रहरीलाई कारबाई गरिने बताए।
यही असार १ गते रतनपुरबाट निजगढतर्फ आउँदै गरेको टेम्पोबाट ६० किलो गाँजा बरामद भएको थियो। टेम्पोको स्कटिङ गरिरहेका निजगढ नपा–१२ का ३२ वर्षीय दिनेश भन्ने इन्द्रबहादुर भूलन र ३५ वर्षीय सोमबहादुर थिङलाई प्रहरी चौकी रतनपुरका प्रसनि शम्भु महतोको टोलीले पक्राउ गरेको थियो। उनीहरूसँग सात लाख माग गरेको र पक्राउ परेकामध्ये भुलनले अढाई लाख दिने आश्वासन दिएपछि उनीहरूलाई आधा घण्टापछि नै छाडिएको थियो।
घटनाको तीन दिनपछि पक्राउ परेका दुई अभियुक्तमध्ये थिङले प्रहरीले सात लाख माग गरेको र अढाई लाखको बार्गेनिङमा आफूहरूलाई छाडेको सार्वजनिक गरेका थिए। उनले आफूसँगै पक्राउ परेका भुलनले प्रहरीबाट छुटेपछि प्रहरीका लागि अढाई लाख रुपियाँ माग गरेको सार्वजनिक गरेका थिए।
यो घटना समाचारहरूमा आएपछि बारा प्रहरीले छानबीन कमिटी गठन गरेको हो। घटनामा प्रहरीले टेम्पोबाट ६० किलो गाँजा बरामद गरेको र सोका चालक र त्यसमा सवार व्यक्ति फरार भएको तथा बेवारिसे अवस्थामा मोटरसाइकल बरामद गरेको जनाएको थियो।
जबकि घटनाका अभियुक्त थिङले मोटरसाइकलमा आफू र भुलन रहेको बताएका छन्। अस्याथी प्रहरी चौकी रतनपुरले इलाका प्रहरी कार्यालयमा टेम्पो, गाँजा र मोटरसाइकलमात्र बुझाएको छ।