२०५२/५३ सालताका नुवाकोटमा मैले प्रत्यक्ष अनुभूति गरेको एउटा प्रसङ्ग यहाँ साझा गर्नु सान्दर्भिक हुनेछ । चुनावको बेला थियो । नेताहरूको घरदैलो कार्यक्रम चलिरहेको थियो । नुवाकोट दिग्गज नेताहरूको गढ मानिन्थ्यो । नुवाकोट जिल्लाको तत्कालीन मदानपुर गाविसका बासिन्दाहरूले स्थानीय समस्या जसले हल गर्छ, उसैलाई मत दिने भन्दै एकापसमा सल्लाह गरेका रहेछन् ।
मतको लागि अनुनयविनय गर्न आउने नेताहरूसँग उनीहरूले सडक र पानीको समस्या निर्वाचनअघि समाधान गर्ने व्यक्तिलाई मात्र मत दिन्छौं, भन्थे । ती मतदाताहरूलाई न त सिंहासनको लोभ थियो, न त कुनै पदमोह थियो । उनीहरूलाई केवल अपेक्षा थियो, स्थानीय समस्याको समाधान हुनुपर्छ । अन्ततः नागरिकको दृढ इच्छाशक्तिको अगाडि नेताहरू नतमस्तक हुन बाध्य भए ।
चुनावअघि उनीहरूको समस्या समाधान भयो । आश्वासन बाँड्नेले मत पाएनन् । समस्या समाधान गर्नेले मत पायो ।
सरकारी अस्पताल आमजनताको साझा धरोहर हो । यद्यपि सरकारी अस्पतालहरू अपवादबाहेक दुर्गन्धित राजनीतिको शिकार भइरहेका छन् । कामकारबाई गुट–उपगुटमा विभाजित छ ।
यो तीतो सत्यलाई अस्वीकार गर्ने ठाउँ छैन । सरकारी अस्पतालहरूमा कुनियतपूर्ण हस्तक्षेप भइरहेसम्म कल्पना गरेको सरकारी स्वास्थ्य सेवा उपलब्धिमूलक हुन सक्दैन । हस्तक्षेप किन भनिएको हो भने सरकारी अस्पताल प्रायः आफन्त नियुक्त गर्ने र आर्थिक ब्रह्मलुटसम्म सीमित छ ।
एकातर्फ निजी अस्पतालहरूको पनि वक्रदृष्टि सरकारी अस्पतालमाथि केन्द्रित छ । किनभने सरकारी अस्पतालमा गुणस्तरीय उपचार सेवा प्रवाह भएमा महँगो सेवाका निजी पसलहरू प्रभावित हुन सक्छन् । अर्कोतर्फ आमजनमा अपवादबाहेक आफुलाई नेताको चाकरीबाजमा सीमित राख्ने मनोविज्ञान पनि बढ्दो छ । त्यसैले नितान्त सामाजिक सरोकारका विषयहरू ज्ञात भएपनि नागरिकमा आँटसहित आफ्नो नेतासँग विमर्श गर्ने क्षमता छैन । त्यसैले अपेक्षित परिणाम उपेक्षित छ ।
उपरोक्त प्रसङ्ग उल्लेख गर्नुको तात्पर्य के हो भने सामाजिक समस्या समाधानको सन्दर्भमा देखेर पनि नदेखेजस्तो गर्ने नेतालाई प्रश्न गर्ने आँट कार्यकर्ता र आमजनतामा जागृत हुन जरुरी छ । के हामीले आफ्नो नेतागणको द्वारमा स्वास्थ्य सेवाका समस्याबारे प्रश्न गर्न पुग्छौं ? बेथिति किन मौलाइरहेको छ ? कसरी समाधान हुन्छ ? अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीका समस्याहरू के के हुन् ? भौतिक संरचनाको अवस्था कस्तो छ ? स्वास्थ्य उपकरणको उपलब्धता कति छ ? लगायतका जनसरोकारका विषयमा न त राजनीतिक वृत्त अज्ञानी छ, न त समाज । कुनै दलीय विचार वा व्यक्तिको सन्निकट रहनु भिन्दै कुरा हो ।
यद्यपि सामाजिक सरोकारका विषयमा आआफ्नो दलसमक्ष प्रसङ्ग उठाउनुपर्छ । राम्रो गरिरहेका विपक्षीको पनि प्रशंसा गर्नुपर्दछ भने सामाजिक अहित गर्ने आफ्नै दलका नेता किन नहोऊन्, निन्दा गर्ने क्षमताको सुरुआत अब नवपुस्ताबाट शुभारम्भ हुनुपर्दछ । अनिमात्र हामी र हाम्रा आगामी पुस्ताले अपेक्षित परिणाम अनुभूत गर्न सक्छन् ।
प्रदेश २ को धनुषाको जनकपुर अस्पताल र पर्साको नारायणी तथा पोखरिया अस्पताललगायत समस्त सरकारी अस्पतालमा ठड्याइएका भवन, इँट, पर्खाल र भ-याङलगायतका भौतिक संरचनाहरू समेत बेथितिजन्य काण्डका वर्षौंदेखिका प्रत्यक्षदर्शी हुन् तर ती स्वरविहीन छन् । बोल्न सक्दैनन् । विभिन्न बहानामा सरकारी अस्पतालहरू भित्री र बाह्य षड्यन्त्रको शिकार हुँदै आइरहेका छन् ।
सरकारी अस्पतालको सेवाप्रवाह गुणस्तरीय र प्रभावकारी बनाउनको लागि सरकार, अस्पताल विकास समिति, बुद्धिजीवी, नागरिक तथा युवालगायतको निस्स्वार्थ भावका साथ पहल अपेक्षित छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई पनि सामाजिक अपनत्व आवश्यक छ । सीमित स्रोत र साधनका बावजूद कोरोनाको यस महामारीमाझ अग्रपङ्क्तिका योद्धाहरू आमजनताको जीवनरक्षाप्रति कर्तव्यनिष्ठताका साथ खटिरहेका छन् । यही सेरोफेरोमा कोरोनाको डरत्रासबीच नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सफाइकर्मीसँगकोे विगतदेखि अहिलेसम्मका काम, कर्तव्य तथा अनुभवहरूमा आधारित संवादको संक्षिप्त अंश प्रस्तुत छ ।
डा उदयनारायण सिंह (कोभिड संयोजक)
यस वर्ष मृत्युदर बढी हुनुका कारणहरूमध्ये क्रस सङ्क्रमण, गम्भीर प्रकृतिको भाइरस र ढिलो गरी उपचार सेवा लिन आउनु प्रमुख थिए । सङ्क्रमित बिरामीका कुरुवाहरू सावधानीविना बिरामीको सम्पर्कमा आउँथे । कोरोना सङ्क्रमणको वाहक बन्थे । एकातर्फ बिरामी निको हुन्थे । अर्कोतर्फ बिरामीको आफन्त सङ्क्रमित हुन्थे । यस प्रक्रियालाई स्वास्थ्य विज्ञानको भाषामा ‘क्रस सङ्क्रमण’ भनिन्छ ।
कुनै न कुनै प्रकारले मानवीय असावधानीका कारण सङ्क्रमणको प्रसार समुदायमा फैलिंदै गयो । दुई हप्ताअघिको भन्दा अहिले तनावयुक्त वातावरणमा कमी आएको छ । अपवादका घटनाबाहेक आमजनताको साथ र सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीलाई उच्च मनोबल प्राप्त छ । कोरोनाको त्रास सबैलाई छ । कोरोना सङ्क्रमणले चिकित्सकको पनि ज्यान लिएको छ । यद्यपि आमजनको ज्यान बचाउनु हाम्रो परम कर्तव्य हो र कर्तव्य निर्वाहमा अहोरात्र खटिरहेका छौं ।
बिरामीको लक्षण अनुसार सङ्क्रमितहरूको ‘ब्लड कल्चर’ गरेर ‘सेकेन्ड्री इन्फेक्शन’ पत्ता लगाउनेतर्फ पनि गम्भीर ध्यानाकर्षण भयो । सेकेन्ड्री सङ्क्रमण अर्थात् कोरोनासँगै अन्य ब्याक्टेरियाको पनि जोखिम छ कि ? भन्नेतर्फ उपचार लक्षित थियो । लक्षण अनुसार उपचारको प्रक्रिया अँगाल्दै गइयो । सीमित स्रोत र साधनका बावजूद चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतका समन्वयकारी भूमिकाले अहिलेको यो अवस्थामा आइपुगेका छौं ।
दाताहरूको कारण सेन्ट्रल अक्सिजन पाइपलाइन सेवा अहिले नारायणी अस्पतालको दुईवटा वार्डमा उपलब्ध छ । अक्सिजनको लेबल १ देखि १५ सम्म गर्न मिल्छ । एकको अर्थ हो प्रतिमिनेट १ लिटर अक्सिजन फलो हुन्छ । कुरुवाहरूले अक्सिजनको लेबल आफै बढाइ दिने जस्ता गुनासो स्वास्थ्यकर्मीहरूबाट आउन थालेपछि कुरुवाहरूलाई सम्झाउने काम गरियो ।
उदाहरणको लागि कसैलाई प्रतिमिनेट ६ लिटर अक्सिजन आवश्यक हुन्छ भने कतिपयलाई प्रतिमिनेट १० लिटर आवश्यक पर्न सक्छ । यो बिरामीको अवस्थामा निर्भर गर्छ । बिरामीको अवस्थालाई यकीन गरेर अक्सिजनकोे मात्रा निश्चित गरिन्छ ।
दाताहरूले सेन्ट्रल अक्सिजन र थप भेन्टिलेटर आदिको व्यवस्थापन र सहयोगले बिरामीहरूको लागि सञ्जीवनीको काम गरिरहेको छ ।
प्रदेश २ सरकारद्वारा जनशक्तिको व्यवस्थापन त भयो, तर अलि ढिलो भयो । अहिले कोभिड बिरामीको उपचारमा डा नीरज सिंह, डा राकेश तिवारी, डा सरोजरोशन दास, डा दीपक चौरसिया, डा रामकिशोर सिंह, डा जेपी जैसवाल, डा दीपक कुशवाहा, डा परमेश्वर साह, डा प्रशान्त वर्णवाल, डा ऐराज खान र डा राजीव यादवलगायतका चिकित्सक, स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूको साथ र सहयोगले आज यो अवस्थामा आइपुगेका छौं ।
कोरोनाले प्रारूप परिवर्तन गरी तेस्रो लहरको सम्भावना रहेको छ । पहिलो लहरमा वृद्धवृद्धा, दोस्रो लहरमा व्यस्क बढी सङ्क्रमित भएजस्तै तेस्रो लहरमा बालबालिकामा असर पर्ने सम्भावना बढी छ । त्यसैले सावधानी र सतर्कता अहिले पनि उत्तिकै अपरिहार्य छ ।
हेमा थापा (कोभिड, नर्सिङ कोअर्डिनेटर)
‘दिदी मेरो बिरामीलाई बचाइदिनुुस्,’ यस्ता स्वरहरू दिनहुँ सुन्नुपर्छ । बिरामीको छटपटी र आफन्तजनको अवस्था हेरेर मन दुःखी हुन्छ । आपूmसँग भएको ज्ञान अनुसार उपचारको प्रयासमा कुनै कसर बाँकी राखिंदैन । यद्यपि कोही निको भएर घर फर्कन्छन् र कसैको जीवन समाप्त हुन्छ । आफन्तजनले मात्र होइन, हामी स्वास्थ्यकर्मीहरूले पनि बिरामी छिट्टै निको होस् र घर फर्कियोस् भन्ने ईश्वरसँग कामना गर्दछौं ।
कोेरोनाकालका यी सन्दर्भहरू सुनाइरहँदा साहसी स्वास्थ्यकर्मी थापाको मुटुभित्रको वेदना अश्रुको थोपाको रूपमा आँखामा प्रस्ट झल्किरहेकोे थियो । नर्सिङ सेवाको २७ वर्षको अवधिमा कोरोनाको दोस्रो लहर जस्तो भयावह स्थिति यसअघि कहिल्यै न भोगेको उनी बताउँछिन् । गत वर्षको पहिलो लहरमा नर्सिङ सेवामा सराहनीय भूमिका खेलेकी उनी दोस्रो लहरको क्रममा गत वैशाख १६ गतेदेखि कोभिडको नर्सिङ कोअर्डिनेटरको रूपमा जिम्मेवारी सम्भाल्दै आएकी छन् । उनी भन्छिन्, “गत वर्षको पहिलो लहरताका जनसमुदायमा मात्र त्रास थिएन । अपितु चिकित्सकीय सेवामा आबद्ध पेशाकर्मीहरूमा पनि मानसिक त्रास र पारिवारिक चिन्ता व्याप्त थियो ।”
“हेलो, हेमा कस्तो छौं ?” गत वर्ष उनी क्वारेन्टाइनमा हुँदा पति कुमार दास मानन्धरको फोन आयो । एउटै शहर र केही मिटरको दूरीमा उनी क्वारेन्टाइनमा तथा पति र छोरा घरमा थिए । दुवैतर्पm एकअर्काप्रति चिन्ता थियो । एक दिन पति र छोराले एकापसमा सल्लाह गरेका रहेछन् । पतिले फोन गरेर भने, “तलको कोठा खाली गराइदिएको छु । यहीं आऊ । यहीं बस ।
कम्तीमा एकअर्काको अनुहार हेरेर दुःखसुख बाँडौंल नि ।” संसार नै कोरोनासँग त्रसित रहेको बेला कोरोना सङ्क्रमितको उपचारमा संलग्न पत्नीलाई मानसिक साहस थप्ने उद्देश्य थियो, पतिको । त्यसपछि उनी आफनै घरको भुइँतलामा बस्न थालेकी थिइन् । उनी भन्छिन्, “चिकित्सकको सिफासिश अनुसार अक्सिजनको मात्रा हामी सेट गथ्र्यौं ।
जस्तै हामीले अक्सिजनको लेबल ६ मा राखेर अर्को बिरामीलाई हेर्न जान्थ्यौं । कुरुवाहरूले अक्सिजनको लेबल बढाएर १० गरिदिन्थे ।” कोरोनाको दोस्रो लहरमा बिरामीको चाप दिन प्रतिदिन बढिरहेको थियो । शøयाको समस्या हुन थाल्यो । सँगै भौतिक संसाधनको पनि समस्या हुन थाल्यो ।
आइसियू कक्षमा अक्सिजनको सेन्ट्रल पाइपलाइन थिएन । अक्सिजनको सिलिन्डर भुइँतलादेखि माथिल्लो तलासम्म ल्याउने काम नर्स, कार्यालय सहयोगी तथा सफाइकर्मीहरूसमेतको अहम् भूमिका रहेको उनी बताउँछिन् । सयौंको सङ्ख्यामा भारी सिलिन्डर उचालेर माथिसम्म ल्याउनु सहज काम थिएन । पछिल्लो समय दाताहरूले सेन्ट्रल अक्सिजन पाइपलाइनको व्यवस्था गरिदिएपछि अहिले अवस्था सहज भएको छ ।
कार्यालय सहयोगी सुबोध नेपाल भन्छन्, “कोरोनाको त्रासबीच पनि बिरामीहरूको सेवामा म समर्पित छु । जिम्मेवारी निर्वाहको क्रममा आफु पनि सङ्क्रमित भइएला कि भन्ने डर मनमा नभएको होइन । कोरोनाको सङ्क्रमण मार्फत घरसम्म पुग्ला कि भन्ने डर पनि मनमा उत्पन्न हुन्छ । यद्यपि स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर काम गरिरहेको छु ।
भुइँतलादेखि अक्सिजन सिलिन्डर उचालेर कोभिड कक्षसम्म कयौंपटक पु-याएको उनी सम्झन्छन् । चिकित्सकले सिफारिश गरेपछि बिरामीलाई एक्स–रे कक्षसम्म पु-याउने र शैयासम्म ल्याउने काममा उनी संलग्न छन् । उनी भन्छन्, “बिरामीलाई स्ट्रेचरमा राखेर दिनमा कतिपटक ओहोरदोहोर गर्नुपर्छ भन्ने कुरा वर्णन गरेर साध्य छैन ।
कार्यालय सहयोगी मिठू बानियाँका अनुसार बिरामी, कुरुवा र हामी एकै दिनमा परिवार जस्तै घुलमिल हुन्छौं । बिरामी र कुरुवाहरूले दिदी भनेर बोलाउँदा मन खुशी हुन्छ । एकापसमा आत्मीयता बढ्छ । कोरोनाको त्राससँगै सङ्क्रमितहरूको वरिपरि काम गर्नुपर्दछ । सफाइकर्मी चुन्नी देवी भन्छिन्, “ऐसे डर लागे कि कहीं साथे साथे कोरोना घर तक मत चल जाए ।” दिनभरि सफाइको काममा खटिने हुनाले सङ्क्रमण परिवारसम्म पुग्छ कि भन्ने चिन्ता थियो । सरसफाइको काममा खटेका सफाइकर्मीहरूलाई कसैले ‘धन्यवाद’ भनिदिंदा पनि मन गद्गद् हुँदो रहेछ ।
सफाइकर्मी दीपु राउत भन्छन्, “वर्षौंदेखि यस अस्पतालमा सरसफाइको काममा खटिरहेको छु । तर कोरोनाको यो महामारी जस्तो भयावह अवस्था कसैले र कहिल्यै देख्न नपरोस् ।” जथाभावी फोहर गर्ने मानिसहरूको बानीप्रति उनले खेद प्रकट गरे । बिरामी कक्ष, बरन्डा, भ-याङ र खुल्ला स्थानमा जहाँ पायो त्यहीं गुटखा, पान, बिस्कुट र पाउरोटीको खोल, खाना र प्लास्टिकजन्य सामग्री जथाभावी फाल्ने बानीमा सुधार ल्याउनुपर्ने उनको अनुरोध सबैले मनन गर्नुपर्दछ ।