प्रस, वीरगंज, ३ असार/
वीरगंज महानगरपालिका–१७ अलौंका हृदयदास तुराहालाई उद्धार गरी मानव सेवा आश्रम वीरगंजमा ल्याइएको छ।
१५ वर्षदेखि मानसिक सन्तुलन बिग्रेका उनलाई घरमा सिक्रीले बाँधेर राखिएको थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकोले मानसिक रोगको उपचार गर्न नसकी तुराहालाई घरमैं राखिएको सूचना पाएपछि नगरप्रमुख विजयकुमार सरावगीको पहलमा मानव सेवा आश्रमका सहसंयोजक सानु मानव सेवा र नेपाल प्रहरीको सहयोगमा उद्धार गरिएको हो।
दुई साताअघि बारा जिल्ला, कलैया उपमहानगर–१८ मोतीसर निवासी जोगेश्वर ठाकुरलाई उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको थियो। मानसिक सन्तुलन गुमाएका उनलाई पनि चार वर्षदेखि घरमा सिक्रीले बाँधेर राखिएको थियो। अहिले ठाकुरको अवस्था आश्रममा सामान्य रहेको सहसंयोजक सानु मानव सेवाले बताइन्।