प्रस, वीरगंज, ३ असार/
बारा जिल्ला सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई फोनबाट धम्की दिएर रकम माग गरेको कसूरमा सोही गाउँपालिकाका कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले सुवर्ण गापा–४ निवासी मुकेशप्रसाद यादवलाई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई धम्की दिएको कसूरमा पक्राउ गरेको बताए। पक्राउ परेका यादव सोही कार्यालयमा करारमा कार्यालय सहयोगीमा कार्यरत हुन्। उनले अधिकृत श्रीवास्तवलाई फोनबाट रु १५ लाख माग गरेको र नदिएको खण्डमा ज्यान मार्ने धम्की दिएको प्रनाउ मिश्रले बताए।
एनसेलबाट पटक–पटक फोन तथा एसएमएस गरी सो रकम माग गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा निज यादव कसूरवार ठहर भएपछि पक्राउ गरिएको हो। उनको अडियोसहितको प्रमाण रहेको प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर आपराधिक लाभ मुद्दामा थप अनुसन्धान गरिरहेको प्रनाउ मिश्रले बताए।