प्रस, वीरगंज, २४ जेठ/
पर्सा जिल्लामा निषेधाज्ञा अवधि असार ६ गते राति १२ बजेसम्म लम्बिएको छ। यो अवधिमा सङ्क्रमण र मृत्युदर घटेसँगै जिल्लाभरि चहलपहल बढ्न शुरू भएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अवधि सातौंपटक लम्ब्याउँदै असार ६ गते राति १२ बजेसम्म पु–याएको छ। यो अवधिमा सङ्क्रमित सङ्ख्या र मृत्युदर पनि घट्दो छ। सङ्क्रमित र मृत्युदर घटेसँगै वीरगंज महानगरलगायत पर्सा जिल्लाभरि निषेधाज्ञा उल्लङ्घन बढ्दै छ।
निषेधाज्ञा अवधिमा के गर्ने, के नगर्ने र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई दण्ड जरिवाना हुने सूचना जारी भइरहँदा अहिले सोको अवज्ञा गरेर काम भइरहेका छन्। अनावश्यक काममा पनि मानिस बाहिर निस्किने क्रम बढेको छ। मुख्य सडकको चोकचोकमा प्रहरी तैनाथ छन् तर कसैले पनि कुनै रोकटोक गरेको छैन। घण्टाघर र पावरहाउस चोकमा खटेका प्रहरीले सवारी चेकजाँच गर्दैछन् बाँकी ठाउँमा दिनभरि निर्बाधरूपमा सवारीसाधन सञ्चालन हुने, पसल खुल्ने क्रम जारी छ।
निषेधाज्ञा अवधिमा बिहान १२ बजेसम्म खाद्यान्न, किराना पसल सञ्चालनको इजाजत दिए पनि अहिले सबैखाले पसल बिहान १२ बजेसम्म खुलिरहेका छन्। प्रशासनले पनि सङ्क्रमण र मृत्यु दर घटेको तथा निषेधाज्ञा अवधि लामो भएर जनता आजित भएको कारण कडाइ गरेको छैन। वित्तीय संस्था अहिले राष्ट्र बैंकको निर्देशनमा पूर्णरूपमा सञ्चालन भएपछि महानगर र गापामा पनि चहलपहल झनै बढेको छ।
ग्रामीण भेगमा अहिले प्रायः सबै ठाउँका बजार सञ्चालनमा आएका छन्। त्यसैगरी, सवारीसाधन पनि निर्बाध चल्न थालेका छन्। दुई पाङ्ग्रे सवारीसाधन ग्रामीण क्षेत्रमा चल्ने गरेकामा एक सातादेखि सबैखाले सवारीसाधन सञ्चालनमा छन्।
नारायणी अस्पतालमा दैनिक स्वाब सङ्कलन घटेको छ। त्योसँगै सङ्क्रमित सङ्ख्या पनि घटेको छ भने वीरगंजभरिका अस्पतालमा सङ्क्रमितको मृत्युदर पनि घटेको छ।
तीन/चार दिनदेखि सङ्क्रमितको मृत्यु भएको समाचार छैन। यसअघि जेठ ३० गतेसम्म वीरगंजका अस्पतालमा पर्सा र जिल्लाबाहिरका गरी दोस्रो कोरोनाकालमा ३२२ जनाको मृत्यु भइसकेको छ। ३० गतेदेखि अहिले मृत्युको खबर छैन। दैनिक १५ जनाभन्दा कम सङ्क्रमित देखिन थालेका छन्।