प्रस, पर्सागढी, २ असार/
पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछटौलीको भवन निर्माणमा कमसल निर्माण सामग्रीको प्रयोग भइरहेको छ।
पर्सागढी नगरपालिकाको ३५ लाख र जनश्रमदानबाट ३ लाख ९० हजार गरी ३८ लाख ९० हजार रूपैयाँको लागतमा दुई कोठे पक्की भवन निर्माण कार्यमा कमसल निर्माण सामग्रीको प्रयोग भएको पाइएको छ। निर्माणाधीन भवनमा पुराना मक्किएका झ्याल, ढोकालाई रङ्गरोगन गरी प्रयोग गरिएको छ।

झ्याल, ढोकाको रङ्गरोगन नगरिएको भाग हेर्दा मक्किएको, सडेको सहजै देख्न सकिन्छ। विद्यालयका प्रअ रामबहादुर चौधरी पनि पुराना झ्याल, ढोका प्रयोग भएको सहर्ष स्वीकार्छन्। उनले जनश्रमदानको ३ लाख ९० हजार प्रयोग भएको देखाउन पुराना झ्याल, ढोकाको प्रयोग भएको बताए। ३ लाख ९० हजार मूल्यबराबरको जनश्रमदान गर्नुपर्ने व्यवस्था भएपनि कसैले पनि सो कार्यमा नसघाएकाले बाध्य भएर यस्तो कार्य गर्नुपरेको उनको भनाइ छ।

भवन निर्माणको लागि ठेक्का लगाइएको छैन भने उपभोक्ता समिति पनि गठन गरिएको छैन। प्रअ स्वयंले निर्माण कार्यको निगरानी गर्दै आएका छन्। वडाध्यक्ष समसुद्दीन देवानले प्रअ स्वयंले भवन निर्माण कार्य गराइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here