प्रस, सिराहा, २ असार/
सिराहा जिल्लाको धनगढीमाई नगरपालिकास्थित सर्रे खोलामा झोलुङ्गे पुलको शिलान्यास भएको छ। उक्त पुलको नगरप्रमुख हरिनारायण चौधरीले शिलान्यास गरेका हुन्।
९६ मिटर लामो र पाँच फिट चौडाइको झोलुङ्गे पुल नगरपालिका, स्थानीय बासिन्दा र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको त्रिपक्षीय सहयोगबाट एक करोड सात लाख रुपैयाँ बजेट लगानीमा निर्माण गरिने नगरप्रमुख चौधरीले बताए। उक्त पुल यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने उनको भनाइ छ।
धनगढीमाई नगरपालिका—१४ का बासिन्दा र नगरपालिकाको कार्यालय आउजाउ गर्ने स्थानमा निर्माण हुन लागेको उक्त पुलले सो वडाको मड्यान, महाजनी, हाथीढुङ्गा, राईराईनीलगायतका क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन्। खोलामा पुल नहुँदा त्यस क्षेत्रका बासिन्दाहरू वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। झोलुङ्गे पुल निर्माण हुने भएपछि सो क्षेत्रका बासिन्दाले शिलान्यास कार्यक्रममैं नाचगानसहित खुशियाली मनाएका थिए।