हाम्रो मुलुकमा हरेक वर्ष जून १० को आसपास अर्थात असार महीना लागेपछि मनसुन भित्रिने गर्छ। यस वर्ष पनि जून १३ मा मनसुन भित्रिने अनुमान गरिएको थियो, अनुमानभन्दा दुई दिन पहिले जून ११ मा मनसुन भित्रिएको छ। हरेक वर्ष मनसुनले खुशीसँगै विपत्ति पनि बोकेर आउने गरेको छ। खेती गर्ने किसानको लागि मनसुन वरदान हो। मानो खाएर मुरी उब्जाउनुपर्ने असार महीनामा वर्षा नभए समयमा धान बाली लगाउन सकिंदैन। सिंचाइ नहर वा भूमिगत डीप बोरिड्ढो प्रयोगबाट सिंचाइ गर्नेहरूका लागि पनि मनसुनविना असहज छ। वर्षा भएन भने कुलोको मुहान र भूमिगत सिंचाइका स्रोतहरूसमेत सुक्ने हुँदा समस्या खडा हुन्छ। यसर्थ किसानहरू मनसुन शुरू हुँदा खुशी हुन्छन्। यो खुशीसँगै मनसुनले हिमाली तथा पहाडी क्षेत्रमा बाढी, पहिरो र समथर तराई–मधेस क्षेत्रमा नदी कटान, डुबानको समस्या पनि ल्याएर आउँछ। बाढी, पहिरो साथै डुबान, कटानले हाम्रो मुलुकमा बर्सेनि सयौंको ज्यान जाने, बेपत्ता पार्ने गरेको छ। बितेको वर्ष बाढी, पहिरो तथा डुबानमा परेर ३४३ जनाको मृत्यु भएको थियो भने १०१ जना अझै बेपत्ता छन्। पछिल्लो १० वर्षयता हरेक वर्ष एक सयजनाभन्दा बढीले ज्यान गुमाइरहेका छन्।

मनसुन शुरू भएपछि हुने बाढी, पहिरो, भूक्षय, नदी कटान, डुबानका घटना प्राकृतिक एवं दैेवी प्रकोप हो तर आकस्मिक एवं अकल्पनीय भने होइन। हरेक वर्ष मुलुकमा मनसुन भित्रिने तिथिमिति निश्चित छ। यसले निम्त्याउने विपत्ति पनि निश्चित छ। हामी आधुनिक प्रविधियुक्त युगमा प्रवेश गरिसकेका छौं। अब त कहिलेदेखि, कुन क्षेत्रमा र कुन हदसम्मको विपत्ति आउन सक्छन् भन्ने कुराको पनि पूर्वानुमान गरिन्छ। यसले विपत्तिपूर्व सतर्कता अपनाउनका लागि प्रशस्तै समय पाइन्छ। यस वर्ष बाढी, पहिरोबाट १६ लाख ८७ हजार ४ सय ९७ घरपरिवार प्रभावित हुने अनुमान छ। सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित हुने, दोस्रोमा रौतहट, तेस्रोमा कञ्चनपुर र चौथौ प्रभावित हुनेमा सिराहा जिल्ला रहेको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणको अनुमान छ। मनसुन प्रारम्भ भएकै साता सिन्धुपाल्चोक लगायतका पहाडी जिल्लाबाट मानवीय क्षति शुरू भइसकेको छ।

हाम्रो मुलुकमा जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि अपनाइने उपाय एवं तयारी भने छेपारोको कथा जस्तो छ। हरेक वर्ष जब मनसुन शुरू हुन्छ, तब जिल्ला जिल्लामा विपद् व्यवस्थापनको लागि बैठक शुरू हुन्छ। विपद्मा परेका केही क्षेत्रमा दुई/चार प्याकेट राहत वितरण हुन्छ। पीडितले राहतको नाममा रासनभन्दा बढी नेताहरूको भाषण पाउँछन्। फेरि बिस्तारै हिउँद लाग्छ, तब वर्षाको विपत्ति बिर्सन्छन्। बितेको वर्षामा पहिरोले विस्थापित बस्तीका बासिन्दाको व्यवस्थापन अझै पनि भइसकेको छैन। अघिल्लो वर्ष हप्तौंसम्म बस्ती नै डुबानमा परेर जीउधनको क्षति सहेका मधेसका गाउँटोलमा फेरि त्यस्तो विपत्ति पर्दा के गर्ने ? आकस्मिक सुरक्षाको कुनै प्रबन्ध छैन। डुबानको समयमा सुरक्षित स्थानमा सेल्टर घर बनाउने, हरेक गाउँटोलमा लाइफ ज्याकेटका साथै प्लास्टिक बोट राख्ने, डोरी र ट्युबको व्यवस्था गर्ने, आपत्कालीन साइरन र सञ्चारको व्यवस्था मिलाउने र जोखिम क्षेत्रका बासिन्दालाई प्रशिक्षण दिने कुरा चलेको थियो। तर त्यो त छेपारोको कथा चरितार्थ भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here