राधेश्याम पटेल, परवानीपुर, १ असार
बारा, प्रसौनी गाउँँपालिका वडा नं ७ बन्जरिया टोलमा नाला निर्माणमा बजेट दुरुपयोग भएको छ।

बन्जरिया गाउँँको पानी निकासको लागि गापाले चालू आवको लागि पहिलो चरणमा ३२ लाख र दोस्रो चरणमा २० लाख गरी ५२ लाख रुपियाँ खर्च गरेको छ।

असारे बजेटको आधा करोड सिद्धिए पनि पानीको निकास हुन सकेको छैन। गाउँपालिकाका प्राविधिकहरूले नालाको गलत डिजाइन बनाएका कारण पानीको निकास नभएको हो।

नालाबाट पानीको निकास नभएपछि गाउँलेहरू पीडित छन्। बन्जरिया टोलको आधा बस्तीको पानीको बहाव पश्चिमतिर रहेको छ। यसैगरी, आधा बस्तीको बहाव पूर्वपट्टि रहेको नदीतिर छ। तर पूरै गाउँको पानी पूर्वपट्टि रहेको नदीमा खसाउने किसिमले नाला डिजाइन गरिएकोले लगानी अनुसार प्रतिफल प्राप्त नभएको हो। नाला निर्माण भएको केही महीनामैं नाला पूरै भरिएपछि अहिले पुरानै समस्याले गाउँलेहरू जेलिएका छन्।

४१० मिटर लामो नालामध्ये दुई सय मिटरको नाला सडकभन्दा ८ फीट गहिरो बनाइँदै छ। यसले नाला सफा गर्न पनि गा–हो हुने देखिन्छ। साढे ३ फीट चौडा नालामा दुर्ईतिर चार/चार इन्चको दुईवटा पाया छ, भने पानी बग्नको लागि अढाई फीटको बहाव क्षेत्र छ। नाला निर्माणमा अनियमितता भएको भन्दै केहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा लिखित उजूरी गरेका छन्।

प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले आरोप निराधार भएको बताए। उनले रु ३२ लाखमा नाला निर्माण कार्य पूरा नहुने देखिएपछि थप रु २० लाखको बजेट दिइएको र नाला निर्माण कार्य असार मसान्तमा पूरा हुने र सोसँगै त्यहाँको समस्या पनि समाधान हुने दाबी गरे।

उपभोक्ता समितिका अध्यक्ष प्रद्युम्न गुप्ताका अनुसार पश्चिमी टोलबाट गाउँको पूर्व नदीमा पानी झार्न प्राविधिककै सल्लाहमा नालाको डिजाइन बनेको बताए। गापाका प्राविधिकले पूर्वी टोलको सडकबाट ८ फीट सडकको माटो कटान गर्ने र पश्चिमी टोलमा भर्ने सल्लाह दिएको र सोही अनुरूप काम भएको गुप्ताले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here