जीतलाल श्रेष्ठ, निजगढ, १ असार/
वर्षायाममा धमिलो पानी र सुक्खायाममा खानेपानीको चरम अभाव झेल्दै आइरहेको बारा, अमलेखगंजमा मुहान संरक्षणको काम सम्पन्न भएको छ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरबाट भूमिगत जल पुनर्भरण तथा सतहमुनिको पानी सदुपयोग कार्यक्रम अन्तर्गत रु १५ लाखमा मुहान संरक्षण कार्य एक साताअघि सम्पन्न भएको हो।
अमलेखगंज खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले खानेपानी समस्याबारे जानकारी दिएपछि स्थलगत अनुगमन गरी योजना शुरू भई सम्पन्न भएको राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका प्राविधिक अनिल सिन्हाले बताए।
बिजौरी खोलाको पानीको मुहान पहिचान गरी खोला तलको सतहमा आवश्यकता अनुसार कङ्क्रिट ढलान र तारजालीबाट मुहान संरक्षण गरेको उनले बताए।
अमलेखगंज खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्राविधिक ज्ञान र रकम अभावका कारण मुहान संरक्षण गर्न सकेको थिएन। रकम अभावले ६६४ घरधुरीभन्दा बढी उपभोक्ता बर्सेनि खानेपानीको समस्या झेल्दै आइरहेका थिए।
तत्कालीन श्री ३ सरकार देवशमशेर राणा तराईमा शिकार खेल्न आउँदा अमलेखगंजमा बास बस्ने गरेका थिए। उनले विसं १८६९ मा धर्मपत्नी कर्मकुमारीको स्मृतिमा नेपालकै दोस्रो ठूलो २४ लाख लिटर पानी भण्डारण गर्न सकिने खानेपानी ट्याङ्की निर्माण गरेको शिलालेखमा उल्लेख भएको खानेपानी समितिका अध्यक्ष मगरले बताए। त्यसमा अहिले भर्खरै ४ लाख लिटर क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ। २०५३ फागुन ६ गतेदेखि अमलेखगंज खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जिम्मा लिई कार्य गर्दै आएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ मा रहेको अमलेखगंज खानेपानीका लागि स्थानीय तहले उचित ध्यान नदिएको स्थानीयको आरोप छ। सुक्खायाममा पानीको अभाव हुने र वर्षामा धमिलो पानी पिउनुपर्ने बाध्यता वर्षौंदेखि छ। वर्षायाममा बाढीले पाइप बगाउँदा थप समस्या हुने गरेको छ। पिउने पानी शुद्ध नहुँदा झाडापखाला, रुघाखोकीजस्ता रोगले स्थानीयहरू बर्सेनि ग्रसित हुने गरेका छन्।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति भरतपुरको सहयोगमा मुहान संरक्षण भएपछि पाइप जोड्ने कार्य चाँडै सम्पन्न गरी पानी वितरण गर्ने योजना खानेपानी समितिको रहेको समितिका सचिव रोहितबहादुर घिसिङले बताए।
समितिका कोषाध्यक्ष सरिता दाहालका अनुसार ७–८ वर्षअघि अमलेगंजस्थित चुरेकै फेदमा लगभग एक दर्जन क्रसर सञ्चालनमा रहँदा नदी, खोलाबगरको जथाभावी उत्खनन, दोहन भएको थियो।
ठूलो परिमाणमा नदीजन्य पदार्थ क्रसरले निकालेपछि नदी–खोलाको पानी बग्ने सतह गहिरिन पुगेको छ, जसले गर्दा खोलाको तल्लो सतहमा रहेको बलौटे चट्टान जताततै देखिन्छ।
अमलेखगंजको एक नम्बर पुल र दुई नम्बर पुलको खोलाको सतह १५–२० फीट तल धसेको जानकारहरू बताउँछन्। जसका कारण विगतभन्दा अहिले बस्तीमा खानेपानीको समस्या थपिएको छ। बिजौरी, दुधौरा खोलाको पानीको सतह धसिन जाँदा पानीको मुहानमा समस्या थपिएको बताइन्छ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिमा रामेश्वर खनाल अध्यक्ष छँदा चुरे फेददेखि १ किलोमिटरभित्र रहेका क्रसर उद्योगहरू बन्द गर्ने सरकारको निर्णयपछि यहाँका सबै क्रसर उद्योग बन्द भएका थिए।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ भरतपुरका प्रमुख रामहरि पन्तले चुरे पर्वत शृङ्खला संरक्षणमा जति ध्यान दिन सकियो मानवजीवन, वातावरण, पर्यावरण, तराईका उर्वर जमीनको त्यति नै संरक्षण हुने बताए।