प्रस, वीरगंज, १ असार/
निषेधाज्ञा उल्लङ्घन गर्दै सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेको बताइएको छ। वीरगंजबाट काठमाडौंका लागि दैनिक रात्रिसेवाका बस सञ्चालनमा रहेको स्रोतले जनाएको छ। वैशाख १६ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी भएको र सोही अवधिदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा निषेध गरिएको थियो।

तोकिएका सवारीसाधनबाहेक जिल्ला प्रशासन कार्यालय, पर्साको स्वीकृतिबेगर अन्य निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको भएपनि सोही बखतदेखि अहिलेसम्म रात्रिबस सञ्चालनमा रहेको स्रोतको दाबी छ। वीरगंजबाट अहिले पनि दैनिक २/४ वटा बस काठमाडौं जाने र त्यहाँबाट फर्कने गरेको छ।

वीरगंज बसपार्क, लक्ष्मणवामा यात्रीहरूलाई चढाएर काठमाडौं लैजाने गरेको स्रोतले जनाएको छ। यात्रीहरूसँग तोकिएको भाडाभन्दा बढी लिने गरिएको छ। वीरगंजदेखि काठमाडौंसम्म रात्रिबस सञ्चालन हुँदा प्रहरी मूकदर्शक बन्नुले उनीहरूको संलग्नता पुष्टि हुन्छ।

वीरगंज बसपार्क, गण्डक प्रहरी, परवानीपुर प्रहरीका क्षेत्रबाट सार्वजनिक यातायातका बस गुड्नुले उनीहरूको संलग्नता पुष्टि गर्दछ। पटके नजराना दिएर रात्रिबस सञ्चालनमा रहेको स्रोतले जनाएको छ। रात्रिबस सञ्चालन भएपछि अहिले केही सुमो पनि बिरामी, अत्यावश्यक काम देखाएर सञ्चालनमा आएको बताइन्छ।

पर्सालगायत बारा, मकवानपुर, चितवन, धादिङ, काठमाडौंसमेतमा निषेधाज्ञा छ तर पनि सार्वजनिक सवारीसाधन विनाइजाजत यात्री बोकेर गुड्दा कहींकतै नरोकिनुले नजरानाको खेल भएको स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here