प्रस, वीरगंज, ३० जेठ/
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साको आइतवार बसेको बैठकले असार ६ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिएको छ।

वैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी गरिएको निषेधाज्ञाको अवधि बढाउँदै असार ६ गते राति १२ बजेसम्म पु–याइए पनि यसअघिभन्दा निषेधाज्ञा केही खुकुलो गरिएको छ। केन्द्रको सिफारिशमा प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले विगतको तुलनामा सङ्क्रमण दर घटे पनि पुनः बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै निषेधाज्ञा अवधि बढाइएको बताएका छन्।

बैठकले खाद्यान्न पसलहरू बिहान १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। यसअघि बिहान १० बजेसम्म मात्र सो पसलहरू सञ्चालन गर्न दिने निर्णय भएको थियो।

औषधोपचार, अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिंड्डुल गर्न पूर्ववत् निर्णय अनुसार रोक लगाइएको छ। सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाटबजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको छ।

मृत्यु संस्कार, विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यमा दुईवटासम्म सवारीसाधन ब्यानरसहित घरमैं बढीमा १५ जनाको सहभागितामा गर्न पाइनेछ।

मालवाहक सवारीसाधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दानालगायत ढुवानीका सवारीसाधनहरू, आइसोलेशन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुनेगरी अनुमतिप्राप्त सवारीसाधनहरूबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको छ।

विकास निर्माणका कार्यहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने, निर्माण सामग्रीको ढुवानी बेलुका ८ः०० बजेदेखि बिहान ८ः०० बजेसम्म गर्न पाइने, खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्यवस्तुका पसलहरू, कृषि र भेटेरिनरी सम्बद्ध (बीउबीजनलगायतका) पसलहरू, निर्माण सामग्रीका पसलहरू, वर्कशप बिहान १२ः०० बजेसम्म सञ्चालन गर्न पाइनेछ।

तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थलगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्थासमेतका) २५ प्रतिशत कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न पाइने, उद्योग, कलकारखानाहरूले कर्मचारी एवं श्रमिकहरूलाई उद्योग परिसरभित्रै आवासीय प्रबन्ध गरी एवं स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उद्योग सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, सेनिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न सकिनेछ।

वीरगंज मुख्य नाकाबाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको छ।
वीरगंज सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पु–याइ स्थानीय तहले तोकेको आइसोलेशन सेन्टर वा होम आइसोलेशनमा बस्नुपर्ने नियम लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here