प्रस, वीरगंज, ३० जेठ/
पटेर्वासुगौली गाउँपालिका कार्यालयले राष्ट्रिय वनसँग जोडिएको क्षेत्रमा सरोकारवालाहरूको स्वीकृतिबेगर पोखरी खन्ने कार्य गराउँदै आएको छ।

वडा नं ४ र ५ मा स्थानीय बरसाती देवी तथा प्रमोदप्रसाद दहैत थारूले पोखरी खन्ने बहानामा गिट्टी, बालुवा उत्खननलाई प्राथमिकता दिएका छन्। वनसँग जोडिएको र भलुही खोला सिमानामा परेको क्षेत्रमा डिभिजन वन कार्यालय, पर्सासँग स्वीकृतिबेगर पोखरी खन्ने कार्य भइरहेको छ।

डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले विनाअनुमति पोखरी खन्ने कार्य भएको बताए। उनले गाउँपालिकाको काम खेदजनक भएको प्रतिक्रिया दिए। राष्ट्रिय वनसँग जोडिएका क्षेत्रमा अनुमतिविना पोखरी खन्नु गैरकानूनी हुने उनले बताए।

जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद मियाँले पनि सरोकारवालासँग अनुमति लिएर पोखरी खन्नुपर्ने बताए। उनले यस्तो अवैध कार्य भएको छ भने त्यसलाई रोक्नेतर्फ प्रयास हुने बताए।

गापा उपाध्यक्ष ममता महतोले भने नियम प्रक्रिया पूरा गरेर पोखरी उत्खनन गरिरहेको दाबी गरिन्। उनले प्रक्रिया मिचेर काम नभएको र सबै प्रक्रिया पूरा गरेर पोखरी खन्न इजाजत दिएको बताइन्।

वन र भलुही खोलासँग जोडिएको खोलानजीक दुईजनाले पोखरी खन्दा बालुवा, गिट्टी उत्खनन भइरहेको छ। गापाले बालुवा, गिट्टी उत्खनन भएकै कारण सो ठाउँमा पोखरी खन्ने नाममा इजाजत दिएको स्थानीयको गुनासो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here