प्रस, वीरगंज, ३० जेठ/
कोभिड महामारीको बेलामा वीरगंज महानगरवासीलाई सहयोग पु–याउने उद्देश्यले युवा वचन संस्थाले सञ्चालनमा ल्याएको हेल्प डेस्कले आइतवारदेखि सेवा बन्द गरेको छ।
२३ दिनसम्म संस्थाले गरेको सहयोग सराहनीय भएको महानगरप्रमुख विजयकुमार सरावगीले बताए। टिबडेवाला धर्मशालामा आयोजित समापन समारोहमा नगरप्रमुख सरावगीले सङ्क्रमितहरूको सेवामा संस्थाले पु–याएको योगदानको सराहना गरे।
हेल्प डेस्क बन्द गरिए पनि यो अवधिमा ३६५ दिन चौबीसैं घण्टा हेल्पलाइनको मोबाइल नम्बर ९८५५०२८२७२ र ९८०४२६४००१ बाट सेवा प्रदान गरिने संस्थाका अध्यक्ष पियुष कादमियाले बताए। संस्थाका हेल्प डेस्क संयोजक किशन सर्राफले एम्बुलेन्स सेवा, रक्तदान कार्यक्रम, राहत वितरण, औषधिलगायतका सेवा पु–याएको जानकारी गराए।
वीरगंज महानगरपालिकालाई लक्षित गरेर हेल्प डेस्क स्थापना गरिए पनि जिल्लाभरि ६५० गरीब परिवारलाई राहत वितरण गरिएको उनले जानकारी गराए। संयोजक सर्राफले यो अवधिमा संस्थालाई तीन लाख नगद, ९ सय किलो चामल, ११५ किलो दाल, २ सय किलो आलु, ५ कार्टुन तेल, २ बोरा प्याज, सय प्याकेट पीठो सहयोग प्राप्त भएको र ६५० जना गरीब, विपन्नलाई वितरण गरिएको बताए। यसैगरी, हेल्प डेस्कबाट २१ जना विपन्न परिवारलाई निश्शुल्क औषधि र ४३ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको उनले जानकारी गराए।
जगदम्बा स्टीलका सञ्चालक पवन गुप्ताले हेल्प डेस्कलाई रु ३० हजारको औषधि सहयोग गरेको संयोजक सर्राफले बताए। समापन समारोहमा मुकेश अग्रवाल, राज रूँगटा, परमानन्द कादमिया, दीपक टिबडेवाललगायतको सहभागिता थियो।