प्रस, सर्लाही, ३० जेठ/
सर्लाही जिल्लामा रासायनिक मल बिक्री वितरण पुनः सुचारु गरिने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले गरेको रोक्का फुकुवा गर्ने निर्णय भइसकेको र सो निर्णयबमोजिम यही असार १ गतेदेखि बिक्री वितरण सुचारु हुने भएको हो।

यसअघि कोटाभन्दा बढी मल वितरण भएको भन्दै प्रशासनले रोक लगाएको थियो। रोक्का गरिएको एक सातापछि फुकुवा गरिएको हो। उखु किसान र मकै किसानको गुनासो आएकाले उनीहरूको समस्यालाई मध्यनजर गर्दै मल बिक्री वितरण फुकुवा आदेश गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए।

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट कृषकको लागि कोटाको आधारमा रासायनिक मल बिक्री वितरण भइरहेको छ।

“कोटाभन्दा बढी मल वितरण भइसकेकाले यसको दुरुपयोग हुन सक्ने भन्दै वितरणमा रोक लगाइएको थियो। मलको दुरुपयोग भएमा धानको सिजनमा कृषकलाई समस्या हुन सक्ने भन्दै प्रजिअ तामाङले उखु किसान र मकै किसानले मल नपाएको गुनासो गरेकाले बाध्य भएर स्टकमा रहेको मल वितरण गर्ने अनुमति दिएको प्रजिअ तामाङले सञ्चारकर्मीलाई बताएका छन्।

उखु र मकैको सिजनका लागि भनेर तोकिएको मल सकिसक्दा पनि कतिपय उखु र मकै किसानले मल नपाएको गुनासो गरेका छन्। मल नपाए उब्जनी घट्ने भन्दै किसान चिन्तित थिए।

अहिले फेरि मल वितरण फुकुवा भएपछि खुशी लागेको हरिवन नगरपालिकाका–२ का किसान सर्युग महतोले बताए।
मल बिक्री वितरण एक साता रोकिंदा भारतीय मल बजारमा आउन थालेको थियो। तस्करीको माध्यमबाट आउने मल बोराको रु ९०० पर्नेमा प्रतिबोरा १५०० सम्म तिर्नुपरेको किसानहरूले गुनासो गरेका थिए।

जिल्लास्थित कृषि सामग्रीको गोदाममा युरिया तीन हजार छ बोरा, डिएपी ७८९ बोरा, पोटास ५१२ बोरा र कृषि चुन १० बोरा स्टक रहेको कम्पनीका प्रमुख दीपक थापामगरले जानकारी दिएका छन्। त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा पनि युरिया ९०५ बोरा, डिएपी एक हजार ५५९ बोरा र पोटास ६१ बोरा मौज्दात रहेको छ। उक्त मल असार १ गतेदेखि बिक्री वितरण शुरू गरिने प्रमुख थापामगरले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here