- प्रस, वीरगंज, ३० जेठ/
हालै वीरगंजमा गठित पाँच विद्यार्थी सङ्गठन सम्मिलित संयुक्त विद्यार्थी समितिले नयाँ शैक्षिक सत्रमा वीरगंज महानगरका सबै विद्यालयलाई शुल्क नबढाउन आग्रह गरेको छ।
गत वर्षदेखि नै कोरोनाको कारण लकडाउन, निषेधाज्ञाको मार खेप्दै आएका अभिभावकहरूको आर्थिक अवस्था नाजुक भएकाले यो समयमा शुल्क वृद्धि गरेर थप तनाव नदिन उनीहरूले आग्रह गरेका छन्।
आइतवार समितिले वीरगंज महानगरपालिका कार्यालयको शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णसँग यसबारे छलफल गर्दै नयाँ शैक्षिक सत्रमा शुल्क नबढाउन सुझाव दिएको हो।
यसैगरी, समितिले विद्यालय सञ्चालनको सम्बन्धमा ठोस रणनीति बनाउन आग्रह गरेको छ। ठोस रणनीतिबेगर विद्यालय सञ्चालनमा नल्याउन उनीहरूले शैक्षिक महाशाखा प्रमुख कर्णसँग आग्रह गरे। समितिका सदस्यहरूले सरोकारवाला पक्षसँग छलफल गरी यसबारेमा निर्णय गर्न र सोविपरीत गरिए विद्यालयहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
यसैगरी, उनीहरूले शुल्कसँगै पाठ्यपुस्तक परिवर्तन र थप गर्ने काम पनि नगर्न आग्रह गरे।
शैक्षिक महाशाखा प्रमुख कर्णले विद्यालय सञ्चालनको लागि ठोस खाका बनाउने आश्वासन दिएका थिए। उनले विद्यालय सञ्चालनसम्बन्धी अनुगमन समिति बनाउने र मापदण्डका लागि छिट्टै छलफल गरिने बताए। आजको छलफलमा संयुक्त विद्यार्थी सङ्घर्ष समितिका अध्यक्ष विकाश तिवारी, सदस्यहरू रेयाज अन्सारी, शेष हजरा, फिरोज बादशाह, एजाजबाबू राकी, मनोज साह, अभय कर्ण, हरिन्द्र साह, आसिफ अहमद, सुजीत गिरी, शिवजी गुप्तालगायतको सहभागिता रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङले बताए।
शिक्षकलाई खोप दिएर मात्र विद्यालय सञ्चालन गर्न महासङ्घको माग
नेपाल शिक्षक महासङ्घ, पर्सा शाखाले वीरगंज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भनी जेठ २० गते जारी गरेको सूचनाको विरोध गरेको छ।
महासङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादवले विज्ञप्ति जारी गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भर्चुअल विधिबाट पठनपाठन गर्न विज्ञप्ति जारी गरेको र केन्द्र, प्रदेश तथा जिल्लास्थित कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समेत भौतिक उपस्थितिमा विद्यालय खोल्नेबारे कुनै निर्णय नगरेको सन्दर्भमा महानगरले गरेको निर्णय आपत्तिजनक भएको बताए।
उनले शिक्षक, कर्मचारीले कोभिडविरुद्धको खोप नपाएसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्ने भनी नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको निर्देशन भएकोले वीरगंज महानगरमा पनि शिक्षकहरूलाई कोभिडविरुद्धको खोप लगाएर मात्र भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्। सोविपरीत कार्य गरेको खण्डमा हुन सक्ने सबैखाले परिणामको जिम्मेवार महानगरपालिका हुने उनले बताए। विज्ञप्तिमार्फत अध्यक्ष्F यादवले महानगरपालिकालाई असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन्।