काठमाडौं, २९ जेठ/रासस
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएको छ। सो अवधिमा तीन हजार ७५० सङ्क्रमित थपिएका थिए भने छ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार १८२ नमूना परीक्षण गरिएको थियो। तीमध्ये नौ हजार ५९८ पिसिआर विधिबाट र पाँच हजार ५८४ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ। यो विवरणसहित हालसम्म कुल आठ हजार ३०५ जनाको कोरोनाका कारण निधन भएको छ। मन्त्रालयका अनुसार कुल छ लाख चार हजार ३९६ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन्। निको हुने दर ८६.२ प्रतिशत रहेको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५१ जना रहेको छ। कुल एक लाख ८६ हजार २०३ जना निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ। भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ जना निको भएका छन्। यस्तै, ३४९ जनाको मृत्यु भएको छ। ललितपुरमा कुल तीन हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन्। यस्तै, ५०५ जनाको निधन भएको छ।

४५ जिल्लामा ५०० बढी सङ्क्रमित

मन्त्रालयका अनुसार ५०० भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाको सङ्ख्या ४५ रहेको छ। प्रदेश नं १ को मोरङ, सुनसरी र झापामा ५०० बढी सङ्क्रमित रहेका छन्। प्रदेश नं २ को रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, सिराहा र सर्लाही रहेका छन्। वाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभे्रपलान्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा र रामेछापमा ५०० बढी सङ्क्रमित रहेको मन्त्रालयको भनाइ छ। गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी (पूर्व), तनहुँ र लमजुङ छन्। लुम्बिनी प्रदेशका दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, गुल्मी, नवलपरासी (पश्चिम) र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, अछाम र डोटीमा ५०० बढी सङ्क्रमित रहेको मन्त्रालयको भनाइ छ।

यस्तै, २०० भन्दा माथि उपचारार्थ सङ्क्रमति भएका जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ र ओखलढुङ्गा छन्। रसुवा, स्याङजा, पर्वत, अर्घाखाँची, सल्यान, जाजरकोट, रूकुम पश्चिम र दार्चुलामा पनि २०० भन्दा माथि सङ्क्रमित उपचारमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here