प्रस, वीरगंज, २८ जेठ/
पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष खाद्यान्न उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख बाली अधिकृत सुरेशप्रसाद चौरसियाले बताए अनुसार यस वर्ष गत वर्षको तुलनामा २ हजार ७२० मेट्रिक टन बढी खाद्यान्न उत्पादन भएको छ।
चालू आवमा चैते धान ३ हजार ५ सय हेक्टर जमीनमा लगाइएकोमा १७ हजार ८५० मेट्रिक टन उत्पादन भएको छ। यसैगरी, भदैया धान ८ हजार ५५० हेक्टर जमीनमा लगाइएकोमा ४४ हजार ७ सय मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ भने अगहनी धान ३५ हजार हेक्टर जमीनमा लगाइएकोमा १ लाख ६६ हजार २५० मेट्रिक टन उत्पादन भएको जानकारी गराएको छ।
यसैगरी, गहुँ २६ हजार ५० हेक्टरमा लगाइएकोमा ८५ हजार ९६५ मेट्रिक टन उत्पादन भएको र हिउँदे मकै ५६० हेक्टर र वर्षे मकै ४ हजार ५० हेक्टरमा लगाइएकामा १४ हजार ५८० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जानकारी गराएको छ।
दलहनमा मसुरो, खेसारी, मास, मुङ, राजमा, रहर, चना र तेलहनमा आलस, तोरी, सूर्यमुखी, सरसो, बदामलगायत उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस अलावा उखु, आलु, सुर्ती खेती पनि पर्सा जिल्लामा पर्याप्त मात्रामा भएको छ।
गत वर्ष चैते धान १७ हजार ५३५ मेट्रिक टन उत्पादन भएको थियो भने भदैया धान ४२ हजार ७५० र अगहनी १ लाख ६५ हजार ५५० मेट्रिक टन उत्पादन भएको थियो। गत वर्ष गहुँ ८० हजार ६ सय मेट्रिक टन उत्पादन भएको थियो।
निमित्त कार्यालय प्रमुख मुन्नीलाल प्रसादले प्रदेश सरकारबाट जैविक मलका लागि रु १५ लाख, स्यालो ट्युबवेलको लागि रु १ करोड १५ लाख, बजार सेडको लागि रु २५ लाख, कृषि यान्त्रीकरणको लागि रु ७५ लाख, बजारीकरणको लागि रु १५ लाख बजेट आएको र किसानहरूलाई प्रदेश सरकारको निर्देशन अनुसार तोकिएको अनुदान सहयोगमा कार्यक्रम सञ्चालन भएको बताए।