प्रहरी राष्ट्रसेवक हो, शासक होइन

  • राजेश मिश्र

कोरोना महामारीको संवेदनशील समयमा प्रहरी अग्रपङ्क्तिमा खटिरहेको छ। पेशागत कर्तव्य निर्वाह गरिरहेको छ। परिवार र जहानको चिन्ता भएपनि अहिले परिवारलाई फोनको माध्यमबाट सल्लाह र प्रोत्साहन दिनुको विकल्प छैन। अपवादबाहेक प्रहरीहरूको पारिवारिक भेटघाट अन्य पेशार्मीहरू जस्तो सरल हुँदैन। सामान्य अवस्थामा पनि हतपत छुट्टी पाइँदैन भने अहिलेको परिस्थितिमा आकस्मिकबाहेक घरबिदा रोक्का छ। ह्दयभित्रको पीडा कतिपयलाई अश्रुको रूपमा आँखामा आइरहेकै होला। प्रहरी पनि हाम्रै समाजका कुनै न कुनै परिवारका जिम्मेवारी वाहक हुन्। कसैको छोरा/बुबा, पति/पत्नी, दाइ/भाइ, छोरी/बुहारी वा आफन्त हुन्। अतः प्रहरीले आफ्नो परिवार सरह समुदायमा पनि ममत्व बोध हुने प्रकृतिको व्यावहारिक हुन जरुरी छ।

मानिस सामाजिक प्राणी हो। विविध आवश्यकताका लागि एक मानिसले अर्को मानिस, समूह र समुदायसँग अन्तत्र्रिmयात्मक सम्बन्ध स्थापित गर्दछ। व्यक्तिका गुण र अवगुणले समाजमा गहिरो असर पार्छ। एकअर्काबीचको अन्तरसम्बन्ध आआफ्नो व्यवहारमा निर्भर हुन्छ। विचार, व्यवहार र क्रियाको प्रभाव एकअर्कामा पर्छ। व्यक्तिको सामाजिक व्यवहार उसको मानसिक अवस्था अनुसार प्रभावित भइरहन्छ। अपवादबाहेक मानवमा केवल आफूलाई असल ठान्ने मनोविज्ञान बढी पाइन्छ। यद्यपि को असल छ ? कसले समाजको लागि उदाहरणीय कार्य गरिरहेको छ ? लगायतका प्रसङ्गहरू समुदायमा चर्चा हुँदैन भन्ने होइन।

झन्डै एक दशकअघिको एक प्रसङ्ग यहाँ प्रस्तुत गर्नु आवश्यक छ। पर्साको भेडिहारीमा एक दिने स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा पर्साका तत्कालीन जिल्ला प्रशासन र जिल्ला प्रहरीका प्रमुखद्वय आमन्त्रित थिए। उक्त कार्यक्रममा तत्कालीन पर्सा प्रहरी प्रमुख रमेश खरेलको आगमन हुने कुरा चारैतिर फैलिइसकेको थियो। खरेल किन चर्चित भए ? किनभने उनको मातहतका प्रहरीको उदण्ड प्रवृत्ति मात्र ध्वस्त भएको थिएन, अपितु आपराधिक गतिविधिमा संलग्न पात्रहरू पनि पक्राउ हुने क्रम जारी थियो। आमनागरिकलाई शान्ति र अमनचयन महसूस भइरहेकोले खरेल समाजमा चर्चित भए। त्यसैले उनी आफ्नै गाउँमा आइरहेको खबर सुनेर भेडिहारी तथा सो क्षेत्र वरिपरिका सबै उमेर समूहका महिला र पुरुषहरूको बाक्लो उपस्थिति थियो। स्वास्थ्य उपचारभन्दा पनि तत्कालीन प्रहरी उपरीक्षक खरेललाई प्रत्यक्ष हेर्ने आकाङ्क्षा जनमानसमा उच्च थियो। कार्यक्रममा उपस्थितजनहरूको आँखा उत्सुकतापूर्ण भावमा खरेलको अनुहारमा केन्द्र्रित थियो। फाटेको कपडा लगाएकी एक किशोरीको काखमा सिङान बगिरहेको बच्चा थियो। कार्यक्रम सकेपछि प्रायः अथितिहरू एकापसमा परिचय आदानप्रदान गरिरहेका बेला खरेल उठेर त्यो बच्चानजीक गए। बच्चालाई काखमा लिए। आफ्नै रूमालले बच्चाको सिङान पुछिदिए। आफ्नो भागको फ्रूटी बच्चालाई खुवाए। यो दृश्यले सबैको मन छोयो। उक्त प्रसङ्ग अहिले पनि देहातमा चर्चा हुने गर्दछ।

पछिल्लो समय अस्पतालमा भर्ना भएका एक बच्चाको अभिभावकलाई पावरहाउस चोकमा प्रहरीबाट भएको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। प्रहरी प्रमुख बेलबहादुर पाण्डेले घटनाप्रति संवेदनशीलता देखाए। यस कदमको प्रशंसा भइरहेकै बेला प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीको व्यवहारले समाजमा नकारात्मक सन्देश प्रवाह ग–यो। अहिले बाराको सीमा क्षेत्रमा नेपाली सुरक्षा बल र भारतीय सुरक्षा बलले संयुक्तरूपमा सञ्चालन गरिरहेको रचनात्मक कार्यक्रमले सर्वत्र प्रशंसा पाइरहेको छ। कोरोनाको मानसिक पीडामाझ यस्ता कार्यक्रमहरूले प्रहरी र नागरिकबीच नङ र मासुको सम्बन्ध स्थापित गर्न सघाउ पु–याउँछ। शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीको उपस्थिति अपरिहार्य र अनिवार्य छ। विज्ञहरूबाट कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना व्यक्त भइरहेको छ। तसर्थ प्रहरी प्रशासन र जनसमुदायबीचको सुमधुर सम्बन्धले भविष्यमा आइपर्ने आपदासँग लड्न सक्षम बनाउनेछ।

यही सेरोफेरोमा पर्साका प्रहरी प्रमुख, पूर्वप्रहरीहरू तथा बौद्धिक वर्गसँग भएको छलफलको संक्षिप्त अंश प्रस्तुत छ।

बेलबहादुर पाण्डे (प्रहरी उपरीक्षक,  पर्सा)

कोरोनाको सङ्क्रमण फैलिनुमा मानवीय गतिविधि प्रमुख कारण हो भन्ने कुरा सबैलाई थाहा छ। लकडाउन पालना गराउनुका साथै प्रहरी कानूनविरोधी गतिविधि गर्नेहरूतर्फ पनि चनाखो रहनु त्यत्तिकै जरुरी छ। सामान्य अवस्थाभन्दा कोरोना महामारीकालमा प्रहरीको कर्तव्यभार बढेको छ। कोरोनोको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै अपराध र तस्करीजन्य विविध कानूनविरोधी गतिविधि नियन्त्रण गर्ने कार्यमा पर्सा प्रहरी सूक्ष्म निगरानीका साथै सर्तक र सावधान छ। कोरोनाले प्रहरी, कर्मचारी, किसान, विद्यार्थी र महिला वा पुरुष भनेर चिन्दैन। जथाभावी हिंड्ने जोकोही पनि सङ्क्रमित हुन सक्छन्। त्यसैले समुदायको हितको लागि प्रहरी आफ्नो कार्य प्रवाहमा तत्पर छ।

प्रहरी सधैंझैं कोरोनाकालमा पनि सामाजिक शान्ति सुव्यवस्थाको लागि कर्तव्यनिष्ठ भएर खटिरहेको छ। सूचनामा जारी भएको बाहेकका सवारीसाधन र व्यक्ति मात्र कारबाईमा परेका छन्। निषेधाज्ञाको अवज्ञा गर्नेहरूलाई सम्झाउने, मास्कविना हिंड्डुल गर्नेलाई मास्क दिनेलगायतका रचनात्मक कार्य पनि नगरिएको होइन। बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी, सञ्चारकर्मी तथा सवारीपास भएकाहरूको आवतजावतमा कुनै बाधा पु–याइएको छैन। त्यस्तै, खाद्यान्न, तरकारी, दूध, औषधिलगायतका नितान्त आवश्यक आपूर्ति गर्ने ढुवानीका सवारीसाधनलाई सहजता प्रदान गरिएको छ।

कर्तव्य निर्वाहको दौरान एक महिलासहित पर्सामा ९ जना प्रहरी सङ्क्रमित भए। अहिले सातजना प्रहरी काममा फर्किसकेका छन्। एकजना प्रहरी नायब निरीक्षक अझै पनि काठमाडौंमा उपचाररत छन्। सुरक्षाको दृष्टिकोणले सबै प्रहरी कर्मचारीलाई शारीरिक शक्ति प्रदान गर्ने औषधि वितरण गरियो। साथै मास्क, फेसशिल्ड, सेनिटाइजर पनि दिइयो। बिदामा रहेका बाहेकका प्रहरीहरूलाई कोरोनाको पहिलो खोप लागिसकेको छ। कार्यालयमा बेसार र पानीको समेत व्यवस्था गरिएको छ। समाजलाई सुरक्षित र सुव्यवस्थित राख्नको लागि प्रहरी पनि स्वस्थ्य रहनु आवश्यक छ।

समाजमा सकारात्मक र नकारात्मक दुवै प्रवृत्तिका मानिस हुन्छन्। कर्तव्य पालनाको दौरानमा प्रहरीबाट गलती नभएको भन्न सकिंदैन। यद्यपि कतव्र्यपथमा अहोरात्र खटिरहने प्रहरीले कयौं स्थानमा दुव्र्यवहार भोग्नुपरेको अवस्था छ। प्रहरीको गाडी तोडफोड गर्नुका साथै हातपातसम्मका घटना पनि घटेका छन्। यद्यपि प्रहरी संयमित भएर सेवाप्रवाहमा अहोरात्र खटिरहेको छ। कोरोनाको महामारीमाझ अवाञ्छित तत्वहरूलाई पर्सा प्रहरीले पक्राउ गर्नुका साथै कारबाई प्रक्रिया अगाडि बढाउँदै लगेको छ। सकारात्मक प्रवृत्तिका नागरिक, युवाजमात तथा राजनीतिक दलको साथ र सहयोगले लकडाउनको परिणाम छर्लङ्ग छ। सङ्क्रमणको दरमा दिन प्रतिदिन आइरहेको गिरावट हामी सबैको लागि खुशीको कुरा हो।

सनन्दनप्रसाद कुर्मी (पूर्व प्रहरी वरिष्ठ उपरीक्षक)

प्रहरीलाई कोरोना महामारीको दौरान सेवाप्रवाहमा आउन सक्ने सम्भावित कठिनाइबारे पूर्वजानकारी थिएन। त्यसैले प्रहरीहरूलाई पूर्वप्रशिक्षण नदिइएको हुनाले व्यवस्थापनमा कमी देखिएको हो। स्थान अनुसार मानिसको व्यवहार, रहनसहन, भेषभूषा र भाषा आदि फरक–फरक हुन्छन्। जस्तै लकडाउनमा जनसमुदायसँग कसरी व्यवहार गर्ने ? के गर्ने ? के नगर्ने ? आदि कुराहरूको अभाव देखिन्छ। किनभने अहिलेको यो लकडाउन कुनै राजनीतिक आन्दोलन, बन्द, हडताल वा दङ्गा निस्तेज पार्नको लागि कदापि गरिएको होइन। लकडाउनको एकमात्र ध्येय हो, कोरोना सङ्क्रमणको प्रसारलाई रोक्नु।

प्रहरीमा पनि भिन्न–भिन्न समाज, परिवार र परिवेशबाट आएका व्यक्तिहरू हुन्छन्। त्यस कारण व्यवहार, ज्ञान, मानसिकतामा पनि फरक हुन्छ। उदाहरणको लागि एउटै कक्षामा समान विषय पढ्ने विद्यार्थीहरू भिन्दाभिन्दै परिवेशबाट आएका हुन्छन्। पढाउने शिक्षक र पढ्ने पाठ्यक्रम सबै विद्यार्र्थीका लागि एक समान हुन्छन्। यद्यपि परिणाम सबैको फरक–फरक आउँछ। परिणामले व्यक्तिको योग्यता निर्धारण गर्दछ। त्यस्तै, प्रहरीमा पनि प्रशिक्षण र ज्ञान सबैको लागि एक समान हुन्छ। तर कोही उत्कृष्ट हुन्छन् भने कोही पास मात्र हुन्छन्। भन्नुको तात्पर्य के हो कर्तव्यपालनाको सन्दर्भमा कोही सशक्त हुन्छन् भने कोही काखापाखा गर्ने हुन्छन्। कोही प्रशंसनीय कार्य गरेर सङ्गठनमा मात्र होइन, समाजबाट पनि सम्मानित हुन्छन्। कोही ठीकविपरीत धु्रवमा हिंड्छन्।

माथिल्लो तहबाट निर्देशन हुँदै तल्लो तहसम्म पुग्छ। निर्देशन अनुसार काम गर्नुपर्दछ। यद्यपि स्थान, समय र परिस्थिति अनुसार कर्तव्य निर्वाहको क्रममा माथिल्लो तहदेखि तल्लो तहले कानून पालनाका साथै परिस्थिति अनुसार विवेक पनि प्रयोग गर्नुपर्दछ। यो कुनै आन्दोलन दबाउनको लागि लकडाउन गरिएको होइन। आमजनताको ज्यान बचाउनको लागि गरिएको हो। प्रहरीहरूले ‘म राष्ट्रसेवक हुँ’ भन्ने बुझ्नुपर्छ, शासक होइन। सेवाप्रवाह गर्ने व्यक्ति कस्ता छन् ? सेवाप्रवाह त्यसमा पनि निर्भर हुन्छ। राष्ट्रसेवाको अर्थ ठूलालाई बचाउने र सानालाई कारबाई गर्ने होइन। हैसियत अनुसार कारबाई गर्नुपर्छ भन्ने कानूनमा अङ्कित छैन। एकातर्फ कानूनविरोधी कार्य गरेका हैसियतवालालाई कारबाईको दायरामा ल्याउँदा जनस्तरसम्म त्यसको सकारात्मक प्रभाव पर्दछ। अर्कोतर्फ कसूर नगरेका सर्वसाधारण मानिस उपर जाइलाग्दा समग्र समाजमा त्यसको नकारात्मक प्रभाव पर्छ। यस्तो व्यवहारले राष्ट्रसेवक कर्मचारीप्रति सर्वसाधारण मानिसको विश्वास घट्छ। नकारात्मकता बढ्छ।

राष्ट्रसेवकको कर्तव्य प्रवाहमा राजनीतिक अवरोध पनि अर्को प्रमुख कारण हो। राजनीतिक वृत्तमा वर्चस्ववादी सोच हाबी छ। यो विभिन्न स्वरूपमा प्रकट हुन्छन्। जस्तै सरुवा र बढुवा आदि। यसले के हुन्छ भने अपवादबाहेक राष्ट्रसेवकले आफूलाई राजनीतिकर्मीको सन्निकट पार्ने काम गर्छ। र ‘गिभ एन्ड टेक’ जस्तो आचरण स्थापित हुन जान्छ। परिस्थितिको ख्याल राख्दै प्रहरीले संयमता अपनाउनुपर्दछ। सर्वसाधारण मानिसले पनि प्रहरीलाई आफ्नो सहयोगीको रूपमा अङ्गीकार गर्नु नितान्त जरुरी छ।

राधाकृष्ण कायस्थ (पूर्व प्रहरी नायब निरीक्षक)

प्रहरी र जनताबीच सुमधुर सम्बन्ध रहेको खण्डमा आपराधिक अनुसन्धानलगायतका कार्यमा प्रहरीलाई सहयोग पुग्छ। तर प्रहरीले वर्दी धारण गरिसकेपछि अपवादबाहेक सम्पूर्ण शक्ति मसँग छ भन्ने भावना विकसित हुनु ठीक होइन। यस्तो सोच समाजको लागि हितकर हुन सक्दैन। अहिले जो प्रहरी कार्यभार सम्भालिरहेका छन्, भविष्यमा उनीहरू पनि पूर्वप्रहरी अर्थात् आमजनताको भूमिकामा हुनेछन्। यसमा कुनै दुई मत छैन। त्यसैले जनतासँग प्रहरीको भूमिका रचनात्मक र समन्वयकारी हुनुपर्छ। पीडित पक्षले प्रहरी सहायताको अपेक्षा गर्दछ। राम्रा काम गरेर समाजमा सकारात्मक छाप भएका प्रहरीहरूको पनि कमी छैन। राम्रा काम गर्ने प्रहरी समुदायमा पनि प्रशंसित हुन्छन्।

ड्युटीमा खटेको दौरान प्रहरीले भिन्दाभिन्दै प्रकृतिका मानिससँग सामना गर्नुपर्छ। जनतासँग अभद्र व्यवहार गर्ने प्रहरीको कर्तव्य हुँदै होइन। राष्ट्रको प्रगति र सामाजिक अमनचयन तथा शान्ति सुव्यवस्थामा प्रहरीको अहम् भूमिका र योगदान मानिन्छ। तसर्थ जनताको सेवाको सन्दर्भमा जनताको बीचबाट आएका प्रहरीको भूमिका सकारात्मक, रचनात्मक र असल हुनुपर्छ।

शिवकान्त दुबे (प्राध्यापक, ठाराब)

पछिल्लो समय कोरोनोको सङ्क्रमण ओरालोलाग्दो छ। यो सुखद समाचार हो। यस वर्ष कोरोनाबाट बच्ने उपायप्रति मानवीय सचेतना बढेको पाइन्छ। सङ्क्रमणको प्रसारलाई रोक्ने पहिलो उपाय लकडाउनको विकल्प थिएन र छैन पनि। यद्यपि लकडाउन पालना गराउन कतै प्रहरीले निर्दयी आचरण प्रस्तुत ग–यो भने कतै आमनागरिकले अवाञ्छित क्रियाकलाप ग–यो। यस्ता गतिविधिहरूले एकअर्काप्रति सामाजिक मनोविज्ञान सकारात्मक हुन सक्दैन।

हाम्रो सामाजिक संरचना हेर्ने हो भने सम्पन्न वर्गको तुलनामा विपन्न वर्गको जनसङ्ख्या ठूलो छ। कोरोनाकालमा दैनिक ज्यालादारीबाट भरणपोषण गर्ने समुदाय अत्यधिक पीडा भोग्न बाध्य छ। प्रहरी प्रशासनको भूमिका समन्यवकारी हुनुपर्छ। मानवीयताप्रति संवेदनशील हुनुपर्छ। प्रहरी समाजको अभिन्न अङ्ग हो। प्रहरीविनाको समाज र समाजविनाको प्रहरी अपूरो हुन्छ। कोरोनाको परिवेशमा मात्र होइन, प्रहरीको सकारात्मक एवं रचनात्मक व्यवहार सधैं अपरिहार्य छ। यसले प्रहरी र जनसमुदायबीच परस्पर सम्बन्ध प्रगाढ बनाउँछ। प्रहरी मेरो साथी हो भन्ने भावना जनमानसमा अङ्कुरित हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here