प्रस, सिराहा, २४ जेठ/
धनगढीमाई नगरपालिका–३ हनुमाननगरमा गर्भवती पत्नीलाई जलाएर हत्या गरेको अभियोगमा प्रहरीले पतिलाई पक्राउ गरेको छ।
३० वर्षीया पूजा चौधरीलाई उनका पति दीपेन्द्र चौधरीले पेट्रोल छर्केर जलाएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। आठ महीने गर्भवती पूजासँग दीपेन्द्रले रक्सीसेवन गर्न पैसा मागेका थिए। तर पत्नीले पैसा नदिंदा रिसको झोंकमा दीपेन्द्रले पेट्रोल छरेर पत्नीलाई जलाएको प्रहरीले जनाएको
छ।
प्रनाउ डा तपन दाहालका अनुसार जेठ २१ गते राति ८ः३० बजे जलेर गम्भीर घाइते भएकी पूजालाई उनकै पति र सासूले उपचारको लागि लहानस्थित कामना नर्सिङ होम ल्याएका थिए। नर्सिङ होमले विराटनगर लैजान रेफर गरेपछि दीपेन्द्र फरार भएको प्रनाउ डा दाहालले बताए। सासूले पूजालाई विराटनगरस्थित नोबेल अस्पताल पु–याएको र त्यहाँबाट पनि काठमाडौं लैजान भनेपछि एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा आइतवार बिहान सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दीपेन्द्रलाई प्रहरीले आइतवार दिउँसो हनुमाननगरस्थित घरबाट पक्राउ गरेको छ। चौधरीले आफूले पत्नीको शरीरमा सलाई कोरेर जलाएको घटना स्वीकार गरेको प्रनाउ डा दाहालले बताए। दीपेन्द्रलाई सिराहा जिल्ला अदालतमा सोमवार उपस्थित गराएर कर्तव्य ज्यान अन्तर्गतको मुद्दा चलाउने बताए। उनले मृतकका भाइले प्रहरीमा किटानी जाहेरी दिएपछि कानूनी प्रक्रिया अगाडि बढाइएको बताए। मृतक पूजाको ७ वर्षको एक छोरा छन्।