प्रस, ठोरी, २४ जेठ/
प्रदेशसभा सदस्य शङ्कर चौधरीले स्थानीय जागृति युवा क्लबको आयोजनामा ठोरीका विभिन्न सङ्घसंस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
कोरोना सङ्क्रमणको बेलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने विभिन्न सङ्घसंस्थालाई प्रदेशसभा सदस्य चौधरीले क्लबमार्फत मास्क, सेनिटाइजर र पञ्जा सहयोग गरेका हुन्। ठोरी गापाका ५ वटै वडामा रहेका विभिन्न संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लबका संयोजक भगवती धितालले बताइन्। स्वास्थ्य चौकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक विद्यालय, होमस्टे, शिक्षक महासङ्घ, नेपाली सेना, आँखा अस्पताल, आयुर्वेदिक अस्पताल र सामुदायिक रेडियो विजयबस्तीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा रामबहादुर श्रेष्ठ, गोमा उपाध्याय, प्रकाश खनाल, शम्भु पौडेल, सन्तोष श्रेष्ठ, गीता विष्टलगायतको सहभागिता थियो।