प्रस, सेढवा, २१ जेठ/
वर्षा रोकिएर घाम लागेपछि किसानहरू धानखेतीको लागि बीउ छर्न व्यस्त भएका छन्। जेठको अन्तिमतिर धानको बीउ छर्न किसानहरू अहिले व्यस्त भएका हुन्।
भदै, मन्सुली, सोना मन्सुली, मोटरी मन्सुलीलगायतका धानको बीउ किसानहरू छरिरहेका छन्। जीराभवानी गाउँपालिका, जगरनाथपुर, सखुवाप्रसौनी, पटेर्वासुगौली, धोबिनी, छिपहरमाईलगायतका गापामा ब्याड बनाउने काममा किसानहरू लागिपरेका छन्।
यसअघि, निरन्तरको वर्षाले खेतमा पानी जमेपछि किसानहरूले बीउ छर्न पाएका थिएनन्।
जीराभवानी गापा–२ सेढवा निवासी गौतम गौरोले पानी सुकेसँगै खेतमा रहेको खरपात गोडमेल गरेको र ब्याड तयारीमा लागेको बताए। उनले यसपटक पनि गत वर्षझैं मौसम परिवर्तन भइरहेकाले कुन बेला पानी पर्ने र घाम लाग्ने ठेगान नहुँदा खेतमा हतारहतार काम गर्न लागेको बताए।
जगरनाथपुर गापा–३ का किसान महेन्द्र यादवले माटो केही मात्रामा सुकेको कारण अहिले बीउ छर्न लागेको र पुनः वर्षा भएको खण्डमा बीउ छर्न समस्या हुने बताए। उनले मौसम परिवर्तनको कारण अन्य कामकाज छाडेर धानको बीउ छर्न किसानहरू लागिपरेको बताए। जीराभवानी गापाका अर्का किसान आकाश यादवले खेत जोताइको काम छाडेर ब्याड बनाउन लागेको बताए। उनले ब्याड तयारी गरी बीउ छरेपछि मात्र खेत जोताइलाई अगाडि बढाउने बताए।