प्रस, परवानीपुर, २१ जेठ/

वीरगंजका उद्योगी–व्यवसायी निषेधाज्ञा खुकुलो गर्नुपर्ने माग राख्दा स्थानीय प्रशासनले पुनः निषेधाज्ञा १० लिन लम्ब्याउँदै जेठ ३० गतेसम्म पु–याएको छ।

पर्सामा पछिल्लो समय कोरोना महामारी घट्दो अवस्थामा देखिए तापनि प्रशासनले निषेधाज्ञा थप्ने क्रम जारी राख्दा व्यवसायमा प्रतिकूल असर परिरहेको व्यवसायीहरूको भनाइ छ। बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा वीरगंजका उद्योगी–व्यवसायीहरूले अब वीरगंज बजारलाई दिन बिराएर खोल्न सुझाएका थिए। तर चिकित्सकहरूले नमानेपछि जिकोसव्य केन्द्रमा निषेधाज्ञालाई लम्ब्याउने निर्णय नै भएको एकजना उद्योगीले बताए।

“अहिले वीरगंजमा सङ्क्रमण र  मृत्यु दर घटिरहेको छ, नयाँ कोरोना केस पनि फाटफुट मात्र आइरहेका छन्, अस्पतालहरूले सङ्क्रमितको उपचार राम्रोसँग गरिरहेका छन्, अक्सिनजको अभाव पनि छ्रैन,” उनले भने, “एक महीनादेखि बजार तथा यातायात बन्द हँुदा उपभोग्य सामान तथा अन्य सामानको आपूर्तिको क्रम टुटेको छ, यसलाई बिस्तारै माथि उठाउनुपर्छ।” उनले लामो अवधिसम्म व्यापार बन्द भयो भने कोरोनाको डरले मरिन्छ कि मरिंदैन थाहा छैन तर व्यापार चाहिं अवश्य नै बर्बाद हुने बताए। अहिले अत्यावश्यकीय वस्तु किनमेलको लागि प्रहरीले बिहान ६  देखि १० बजेसम्मको समय तोकेको छ। पहिले बिहान ६ देखि ८ बजेसम्म मात्र समय तोकिएको थियो।

यस विषयमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आफूले पनि निषेधाज्ञालाई खुकुलो पारेर जाने इच्छा सुनाएको तर बैठकले अझै एक हप्ता कडाइको निषेधाज्ञा लागू गर्ने निर्णय गरेपछि निषेधाज्ञा थपिएको स्पष्ट पारे। अहिले दैनिकरूपमा पर्सामा १० जनाभन्दा कम नयाँ सङ्क्रमित थपिएका छन् भने २४ घण्टामा मृत्युदर पनि घटेको छ। अस्पतालमा भेन्टिलेटरमा उपचाररत सङ्क्रमितहरूको मात्र मृत्यु हुने गरेको छ।

पर्सामा हाल १४७ जना वीरगंजका करीब आधा दर्जन अस्पतालका आइसोलेशनमा उपचाररत छन् भने पर्सामा २९६२ जना होम आइसोलेशनमा छन्। प्रदेश २ मा १० हजार ३ सय सक्रिय सङ्क्रमित छन् भने कोरोनाको दुवै लहर गरी प्रदेशभरि पर्सामा १२०, बारामा १५१, रौतहटमा ११७, सप्तरीमा १२७ गरी कुल ७२१ जनाको प्रदेश मृत्यु भइसकेको छ। लामो समयको निषेधाज्ञाले उद्योगी–व्यवसायीलाई उधारो, बैंकको ब्याज, कर्मचारीको तलब तिर्नुपर्ने चिन्ता छ भने उत्पादित सामान बिक्री नहँुदा खराब हुने जस्ता समस्याले पिरोलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here