सङ्क्रमित वडाध्यक्षको देहान्त

प्रस, गरुडा, २१ जेठ/

रौतहटको गरुडा नगरपालिका–२ का अध्यक्ष बिसुनदेव सहनीको मृत्यु भएको छ। बिहीवार राति काठमाडौंस्थित निजामती अस्पतालमा उपचारको क्रममा वडाध्यक्ष सहनीको मृत्यु भएको हो। ७५ वर्षीय सहनीको करीब तीन हप्तादेखि कोरोना सङ्क्रमणको उपचार भइरहेको थियो।

स्थानीय राजनीतिमा निकै सक्रिय पञ्चायती व्यवस्थामा ठूलो पञ्चायत हुँदा बिसुनपूर्वा मानपुर गाउँ पञ्चायतको वडाध्यक्ष, गेडहीगुठी गाउँ पञ्चायतको प्रधानपञ्च, गाउँ विकास समिति गेडहीगुठीको अध्यक्ष तथा नगरपालिका भएपछि वडाध्यक्षमा निर्वाचित भएका थिए।

वडाध्यक्षको मृत्यु भएपछि गरुडा नगरपालिकाका प्रमुख इन्नुराय यादवले नगरलाई अपूरणीय क्षति भएको विज्ञप्तिमार्फत जानकारी गराएका छन्। वडाध्यक्ष सहनी नगरस्तरीय न्यायिक समितिका सदस्य पनि थिए।

सहनीको देहावसान भएपछि विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।

गत एक महीनामा गरुडा नगरपालिकामा दुईजना वडाध्यक्षको देहान्त भएको छ। वडा नं ७ का अध्यक्ष रामईश्वर राय यादवको पनि उपचारकै क्रममा काठमाडौंमा मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here