पर्यावरण संरक्षणको नाममा ब्रह्मलुट

– राजेश मिश्र

‘गाछी के जर में ना लाएट बार, लौकत हइले नइखे, टाँङ्गी हेने से होने चल जाता।’ पर्यावरणमा आघात पु–याउने पात्रहरू रातिको समय एकले रूखको जरामा प्रकाश देखाउने र अर्कोले बन्चरो हान्ने प्रवृत्ति छताछुल्ल थियो। अन्ततः चोरी कटानीका कारण पर्सादेखि रौतहटसम्मको नहरका डिलहरू हरियालीविहीन भयो। यो झन्डै दुई दशकअघिको गण्डक नहरको कथा र व्यथा हो। गण्डक नहर र त्यसका शाखा, उपशाखा नहरका डिलमा सिसौंका रूख झाङ्गिएका थिए। ती रूखहरू पर्यावरणमैत्री मात्र थिएनन्, नहरको डिलको शक्ति र यात्रुहरूलाई छहारी पनि प्रदान गर्दथे।

आज जून ५ तारिख अर्थात् विश्व पर्यावरण दिवस हो। यो दिवस मनाउनुको मुख्य उद्देश्य मानिसमा पर्यावरण संरक्षणप्रति जागरूकता प्रवाह गर्नु हो। सन् १९७२ मा संयुक्तराष्ट्र महासभाद्वारा आयोजित पर्यावरण सम्मेलनपश्चात् यो विषय चर्चामा आएको थियो। यद्यपि ६ जून १९७४ देखि पूर्णरूपेण लागू भयो। प्रत्येक वर्ष नयाँ थिमका साथ पर्यावरण दिवस संसारभर मनाइन्छ। यस वर्ष अर्थात् सन् २०२१ को थिम हो–

‘Ecosystem Restoration’ (अर्थात् ‘पर्यावरणको पुनः संरक्षण।’)

पर्यावरणको सुरक्षा र अपरिहार्यताको सवालमा वर्षौंदेखि संसारका बौद्धिक व्यक्तित्वहरूले चासो र चिन्ता प्रकट गर्दै आएका छन्। जस्तै भारतीय अहिंसावादी महापुरुष महात्मा गाँधी भन्थे– “पृथ्वीले मानवीय सम्पूर्ण आवश्यकता र संसाधनको पर्याप्त आपूर्ति गर्दछ, कसैको लालच पूरा गर्नको लागि कदापि होइन।” त्यस्तै अमेरिकी लेखिका मार्गरेट मीड भन्थिन्– “यदि हामी पर्यावरणको नाश गर्छौं भने हामीसँग समाज पनि बाँच्दैन।” त्यस्तै अमेरिकी प्रकृतिवादी रोजर टोरी पीटरसन भन्थे– “पक्षीहरू पर्यावरणका सङ्केत हुन्, यदि तिनीहरू खतरामा छन् भने हामी पनि चाँडै खतरामा हुनेछौं।”

जीवन जति विलासी भएपनि शान्ति प्रकृतिको सामीप्यमा मात्र महसूस गर्न सकिन्छ। घर वरिपरि, खेत, आली, पोखरी र नहरको डिल, सार्वजनिक पर्ती आदिमा रूखबिरुवा रोप्ने प्रचलन अपवादबाहेक आज घरको छतमा सीमित हुन थालेको छ। पर्यावरणको महत्व सबैलाई अनुभूत छ। यद्यपि आजको व्यस्त जीवनशैलीमा अति अपरिहार्य विषय नजरअन्दाज गर्नु चिन्ताजनक कुरा हो।

 

विश्वव्यापी कोरोना महाव्याधिको यस घडीमा अक्सिजनको बढ्दो माग र कालोबजारीले पर्यावरणबाट पाइने निश्शुल्क स्वस्थ जीवन र अक्सिजनको महत्व सबैलाई अवगत भइसकेको छ। पर्यावरणलाई क्षतिमुक्त राख्ने हो भने प्रकृति पनि त्यति नै शान्त अवस्थामा रहन्छ। पर्यावरणमा कुनै पनि प्रकारले क्षति पु–याउनु भनेको पृथ्वीको अस्तित्वलाई जोखिममा पार्नु हो।

विगत

‘बाप रे बाप ! केतना कडा घाम बा हो दादा ! चल होदे बगैचा लौकता, तनिक देर छेंहरा के तब चलल जाई।’ गर्मीको महीनामा यस्ता शब्दहरू प्रायः सुन्न पाइन्छ। गर्मीयाममा बढ्दो तापक्रमको कारण मानिसलाई चीसो हावा र छहारीसँगै शुद्ध अक्सिजनको आवश्यकता महसूस हुन्छ। उहिले गाउँगाउँमा बगैंचा थियो। पोखरी थियो। जीवनयापनका लागि आर्थिक अवस्था अनुकूल नभए पनि पर्यावरण शुद्ध र हराभरा थियो। अर्थात् मानवजीवन प्रकृति निकट मात्र थिएन, प्रकृतिमा आश्रित थियो। त्यसैले मानिसहरू प्रकृतिलाई र प्रकृतिले मानवलाई परस्पर प्रेम गर्दथे।

वर्तमान

अहिले सरेहमा बालीनालीबाहेक बगैचा, बाँसघारी र फूलबारी शून्यप्रायः छ। समयसँगै मानवीय मानसिकतामा प्रकृतिको दोहन र अप्राकृतिक संसाधनको आकर्षण बढ्न थालेपछि पर्यावरण खतरामा छ। विश्व पर्यावरण दिवस केवल सामाजिक सञ्जालमा तस्वीर सम्प्रेषण गर्ने शोखमा सीमित हुन थालेको छ। हरेक प्रकारले आज पर्यावरण दोहन भइरहेको छ। खोला–नाला, वनजङ्गल, पहाड, तराई र हिमाल आदिको अस्तित्व आज खतरायुक्त छ।

कर्मकाण्डी दिवस

अहिले पर्यावरण संरक्षणको नाममा आर्थिक ब्रह्मलुट गर्ने मनोवृत्ति छताछुल्ल छ। स्थानीय तहहरूको सरोकार देखावटीपनभन्दा माथि उठेको पाइँदैन। जस्तै विश्व पर्यावरण दिवसको अवसरमा केही थान वृक्षारोपण, फोटो सेसन, सामाजिक सञ्जालमा फोटो सम्प्रेषण र समाचार प्रकाशनमा सीमित छ। वृक्षारोपण न्यून र अदृश्य भ्रष्टाचार उच्च छ। पर्यावरण संरक्षणमा हुने खर्चहरू अपवादबाहेक बालुवामा पानी सरह भएको छ। किनभने अहिले कुनै पनि पालिकाले आफूले गरेको वृक्षारोपणमा भएको खर्च, रोपेको सङ्ख्या र हुर्केका रूखबिरुवाको सङ्ख्या बताउन चाहिरहेका छैनन्। यसले के सिद्ध हुन्छ भने पर्यावरण दिवस केवल कर्मकाण्डमा आधारित छ। पर्यावरणको दोहनसँगै संरक्षणको नाममा आर्थिक भ्रष्टाचार मौलाइरहेको छ।

हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असर रोक्ने कार्यमा वन तथा वातावरण मन्त्रालयदेखि प्रदेश, स्थानीय तह तथा जिल्लास्थित निकायको भूमिका सन्तोषप्रद भन्न मिल्ने आधार छैन। मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभाव न्यून गर्दै पर्यावरण संरक्षण गर्ने निकाय कर्तव्यपरायण नहुन्जेल अपेक्षित परिणाम असम्भवप्रायः देखिन्छ।

पर्यावरण संरक्षण र चासोप्रति सरकार र नागरिकको भूमिकाको सम्बन्धमा विभिन्न व्यक्तिसँग गरेको छलफलको सङ्क्षिप्त अंश प्रस्तुत छः–सुदीप गौतम (वातावरणविद्, रसुवागढी जलविद्युत् कम्पनी)

पर्यावरणको संरक्षणप्रति हामी सबैको चासो नितान्त जरुरी छ। सरकारले मात्र होइन, आमजनताले पनि आआफ्नो स्तरबाट पर्यावरण संरक्षणप्रति जिम्मेवार हुनुको विकल्प छैन। नत्रभने हामीले आउने पुस्तालाई सही अवस्थामा पर्यावरण हस्तान्तरण गर्न सक्दैनौं। जिम्मेवारी बोध हुँदाहुँदै पनि विभिन्न कारणले पर्यावरणको दोहन भइरहेको छ। यो मानवको लागि मात्र होइन, समस्त प्राणीको लागि अति नोक्सानदायक क्रियाकलाप हो। यदि पर्यावरण विनाश यसै रूपमा भइरहने हो भने हाम्रो सन्तति प्राकृतिक स्रोत र साधनबाट मात्र वञ्चित हँुदैनन्, अपितु जीवन नै जोखिमयुक्त हुन सक्छ।

वातावरण प्रदूषणका कारण पृथ्वीको तापक्रम बढ्दै छ। वातावरणको स्वच्छताप्रति सजग नहुने हो भने आगामी पाँच/दश दशकपछि दीर्घकालीन असरको रूपमा भयावह अवस्था सृजना हुन सक्छ। पृथ्वीको तापक्रम बढ्छ, हिमाल पग्लन्छ र जनजीवन प्रभावित हुन्छ। समुद्र तटका बस्तीहरूको अस्तित्व समुद्रमा विलीन हुने सम्भावनालाई नकार्न सकिंदैन।

मुख्य जिम्मेवारी सरकारको हो। अहिले बहु–तहको सरकारसँग ऐन तथा नियमावली छ। नागरिकसँग सबैभन्दा नजीकको स्थानीय सरकार शक्तिसम्पन्न पनि छ। वनजङ्गल कटानी, नदी–खोला उत्खनन, प्लास्टिकजन्य सामग्रीको प्रयोगलगायत पर्यावरणविरोधी गतिविधि नियन्त्रण गर्ने कानूनी प्रावधान छ।

हरित ग्याँस उत्सर्जन कम गर्ने उपायप्रति सजग हुनुपर्छ। हरित ग्याँस उत्सर्जन गर्ने सबैभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनहरू हुन्। तर प्रभावकारी कार्यान्वयन नहुँदा वातावरण प्रभावित भइरहेको छ।

दोस्रो पक्ष हो आम जनता, उसमा जिम्मेवारीबोध छैन भन्ने होइन। यद्यपि आआफ्नो भूमिका निर्वाह नगर्दा पर्यावरण दोहनसँगै पर्यावरणमा कुप्रभाव पार्ने कार्य बढ्दो छ। सामान्यतया बजार जाँदा घरबाट झोला लग्ने पुरानो प्रचलन हराइसकेको छ। आम मानसिकता अहिले प्लास्टिकको झोलामा आश्रित छ। यो केवल उदाहरण मात्र हो। नजीकमा काम पर्दा मोटरसाइकलको साटो साइकल प्रयोग गर्ने, वनजङ्गल बचाउने, रूखबिरुवा रोप्न अग्रसर हुनुपर्छ। यस्ता ससाना बानीमा सुधार ल्याएर पनि पर्यावरण संरक्षणप्रति ठोस योगदान गरेको ठहरिन्छ।

ललन द्विवेदी

(प्राध्यापक, ठाराब)

पालिकाभित्रका सार्वजनिक जग्गा, पोखरी, पर्ती, सडक, नहर आदिमा वृक्षारोपण गर्नुपर्दछ। पर्यावरणको दोहन रोक्ने कार्यमा सबैको तदारूकता आवश्यक छ। सरकारसँगै आम नागरिकले पनि आआफ्नो दायित्व निर्वाह गर्नुपर्छ।  पालिकाहरूले पर्यावरणको नाममा लाखौं रकम खर्च गर्ने र हजारौंको सङ्ख्यामा रोपेका रूखबिरुवामध्ये एउटा पनि जीवित छैन। पर्यावरण संरक्षणको सवालमा केवल कागजी विकास छताछुल्ल छ।

तीन दशकअघिसम्म गण्डक नहर हरियालीयुक्त थियो। हर्ताकर्ताहरूले रूख चोरी–कटानी गर्न थालेपछि सोको देखासिकी आम नागरिक पनि अघि स–यो। आज पर्सादेखि रौतहटसम्मको नहर उजाड भइसकेको छ। वृक्षारोपण प्रचारबाजीको लागि नभई पर्यावरणमुखी हुनुपर्छ।

अनुप तिवारी (अध्यक्ष, पत्रकार महासङ्घ, पर्सा)

पर्यावरणीय सुरक्षाको सवालमा सरकार मात्र होइन, समस्त नागरिककोे महत्वपूर्ण भूमिका हुनुपर्छ। सामाजिक जागरूकताको सवालमा सञ्चारकर्मीहरूको कलम पर्यावरण संरक्षणप्रति लक्षित हुनुपर्छ। शिक्षा, स्वास्थ्य र खेलकूदजस्तै सञ्चारमाध्यममा पर्यावरण बिटमा पत्रकारिता आवश्यक छ। पर्यावरण दिवसको सार्थकता तब मात्र सिद्ध हुन्छ, जब यसप्रति सबैको भावना एकबद्ध हुन्छ।

पर्यावरण जोगाउन वृक्षारोपण पहिलो र ठोस दायित्व हो। एक सयवटा बिरुवा रोप्दा ६० प्रतिशत बाँच्नुपर्छ भन्ने प्राविधिक मापदण्ड छ। पालिकाहरूले बर्सेनि बिरुवा रोप्ने तर हेरालुको व्यवस्था नगर्दा नष्ट भइरहेका छन्।  रूखबिरुवा रोप्नु मात्रले दायित्व पूरा हुँदैन, त्यसलाई जोगाउन पनि  सक्नुपर्छ।

भगवानदास तत्वा (सामाजिक अभियन्ता)

पोखरिया नगरपालिका–६ श्रीसियाका भगवानदास तत्वाको बुझाइमा पर्यावरण दिवस पर्यावरणको सुरक्षाप्रति मानवीय सचेतना केन्द्रित हुनुपर्दछ भन्ने स्मरण गर्ने र गराउने दिन हो। यो कर्मकाण्डी प्रवृत्तिमा केन्द्रित हुनु दुर्भाग्यपूर्ण हो। हरेक पालिकाले प्रत्येक वर्ष कार्यक्रम गरेर लाखौं रकम खर्च गर्दछन्। यसमा रूखबिरुवा हुर्काउनेभन्दा बजेट स्वाहा पार्ने प्रवृत्ति छताछुल्ल छ। खर्चको अनुपातमा रूखबिरुवा रोपेको अपवादबाहेक पाउन मुश्किल छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here