नितेश कर्ण, वीरगंज, २० जेठ/

सघन शहरी विकास कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकामा सञ्चालित योजनाहरू तोकिएको म्यादमा एक वर्ष थप गर्दा पनि सम्पन्न हुन सकेका छैनन्।

सघन शहरी तथा भवन निर्माण आयोजना पर्साका प्रमुख प्रदीपकुमार सिंहले सघन शहरी विकास कार्यक्रमका बहुवर्षीय ठेक्का स्वीकृत भएकामा पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा १७ वटा सडकखण्ड स्तरोन्नतिको काम भइरहेको तर सो कामको प्रगति सन्तोषप्रद नरहेको बताए।

वीरगंज महानगरपालिकाका विभिन्न सडकखण्डमध्ये हरपतगंज हाइवे–कलौटी–खुहाडी–रामपुर नदी, अपौनी विद्यालय–सौराहा टोला–हाइवे, इनर्वा–मनियारी, झागी टोल–श्रीपुर, मनियारी–रामजानकी रोड, नेशनल इन्फोटेक–लक्ष्मणवा छठघाट, प्रसौनी स्कूल–मनियारी–इनर्वा, परवानीपुर–ताजपुर, पटेलनगर–परवानीपुर, पूर्वारी टोल, पोखरी–वडा कार्यालय, रामगढवा पुल–स्कूल सडकखण्ड अन्तर्गतको करीब २६ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिको ठेक्का सकार गरेको स्वच्छन्द/पप्पु/युनाइटेड बिल्डर्सले अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न गरेको उनले बताए।

रु १५ करोड २ लाखमा सकार भएको ठेक्कामा ४३ प्रतिशत भुक्तानी भइसकेको र २५ प्रतिशत मात्र काम सम्पन्न भएको प्रमुख सिंहले बताए।

यसैगरी, वीरगंज महानगरपालिकाका विभिन्न १३ वटा वडामा सडक निर्माण तथा स्तरोन्नतिको ठेक्का रमण/श्यामसुन्दर/महावीर जेभी ललितपुरले लिएको छ।

७४ करोड ८७ लाख रुपैयाँको यो योजनाको कार्य सम्पन्न हुन सकेको छैन। छपकैया पुल–भन्सार, लक्ष्मणवा नहरचोक–हाइवे, मेडिकल कलेज–हाइवे ढाट, मेडिकल कलेज–नगवा, मेडिकल कलेज–पुल, भन्सार–नगवा, आदर्शनगर सडक, त्रिशूलचोक, ओमआश्रम सडक, रानीघाट–घण्टाघर, अलौं चोक–सुगौली चोक, फिल्महल–धर्मशाला, कल्भर्ट, सुगौली प्रहरी चौकी–पदम रोड सडकखण्ड अन्तर्गत २६ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिको काम तीन वर्षअगाडि सकार गरे पनि अहिले एक वर्ष म्याद थप्दा पनि तोकिएको समयमा सम्पन्न हुने लक्षण देखिएको छैन।

पहिलो योजना २०७५/२/२ मा सम्झौता भएको थियो र २०७७/८/२ मा सम्पन्न हुनुपर्ने थियो तर एक वर्ष म्याद थप्दा पनि सो कार्य अहिले २५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छैन। दोस्रो योजना पनि २०७५/१/३१ मा सम्झौता भएर २०७७/१/३० मा सम्पन्न गर्नुपर्नेमा ६/६ महीना अवधि गरी एक वर्ष म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन।

प्रमुख सिंहका अनुसार लकडाउनको कारण कार्य प्रगति कम भएपनि समयमा सम्पन्न नगरे कानूनबमोजिम कारबाई गर्ने बताए। उनले दुईपटक म्याद थप भइसकेको कारणले अब तोकिएको समयमा ठेक्का सम्पन्न नभए ठेक्का रद्द गर्नेसम्मको कारबाई हुन सक्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here