प्रस, पोखरिया, १९ जेठ/
पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माविमा प्रधानाध्यापक नियुक्त गर्ने सम्बन्धमा पुनः विवाद भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख दीपनारायण रौनियारले ओमप्रकाश रौनियारलाई प्रअमा नियुक्त गरेपछि उपप्रमुख सलमा खातुन र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले सो नियुक्तिमा विवाद गरेका हुन्।
नगरप्रमुख एवं विव्यसका अध्यक्ष रौनियारले आज प्रअमा ओमप्रकाश रौनियारलाई नियुक्त गरेको पत्र विद्यालयमा पठाएपछि सो पत्र दर्ता नगर्नु भनेर उपप्रमुखलगायत विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूले अर्को पत्र पठाएका छन्। प्रअमा ओमप्रकाश रौनियार र विनोद चौधरीबीच प्रतिस्पर्धा थियो।
विद्यालयका प्रअ व्यास महतो चैत ३१ गते सेवानिवृत्त भएपछि उनले निमित्त प्रअको जिम्मेवारी विनोद चौधरीलाई दिएका थिए। यस सम्बन्धमा विद्यालयका अर्का शिक्षक ओमप्रकाश रौनियारले वरिष्ठताको क्रममा आफू ठूलो भन्दै दाबी गरेपछि विवाद बढेको हो। सोही कारण अहिलेसम्म यो विद्यालयका शिक्षकहरूले तलब पाउन सकेका छैनन्।
विव्यसका अध्यक्ष एवं नगरप्रमुख रौनियारले शिक्षा मन्त्रालयबाट वरिष्ठताको प्रमाण माग गरिएको र त्यहाँबाट ओमप्रकाश रौनियार विनोद चौधरीभन्दा वरिष्ठ भएको बुझिएपछि आफूले निजलाई प्रअमा नियुक्त गर्न पत्राचार गरेको बताए।
तर उपप्रमुख सलमा खातुनले मन्त्रालयबाट आएको पत्र सम्बन्धमा विव्यसलाई जानकारी गराउनुपर्ने र सबैको सहमतिमा प्रअ तोकिनुपर्नेमा सो नगरी समितिलाई बाइपास गरिएको कारण आफूहरूले विरोध गरेको प्रस्ट्याइन्। उनले मन्त्रालयले वरिष्ठता तोकेको व्यक्तिलाई प्रअ बनाउँदा आफूलाई कुनै आपत्ति नभएको भन्दै प्रक्रियाविपरीत काम भएकोले विरोध गर्नुपरेको बताइन्।