सर्लाही, १९ जेठ/रासस

जिल्लाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरिएन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन्।

जिल्ला प्रशासन कार्यालय, सर्लाहीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरूले आफूखुशी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम  मूल्य वृद्धि गरेका हुन्। कोरोना भाइरसबाट सङ्क्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ बढेपछि सर्वसाधारण चिन्तित बनेका छन्। दिनभरको कमाइले साँझ–बिहान हातमुख जोर्ने सर्वसाधारण कृत्रिम मूल्य वृद्धिबाट सबैभन्दा बढी मारमा परेको स्थानीय जानकार उमासिंह साहले बताए।

थोक व्यापारीहरूले नै सामानको मूल्य बढाएपछि बाध्य भएर मूल्य बढाएको साना तथा खुद्रा व्यापारीले बताएका छन्। बजारमा अहिले चामल, दाल, चना, मटर, खानेतेलदेखि प्याकिङ गरिएका खाद्य वस्तुहरूको मूल्य वृद्धि भएको छ। निषेधाज्ञा अघि थोक व्यापारीले प्रतिकार्टुन रु दुर्ई हजार ४५० मा दिंदै आएको सनफ्लावर खानेतेल अहिले प्रतिकार्टुन रु १०० बढाएर बिक्री गर्ने गरेको लालबन्दीका एक खुद्रा व्यापारी जोगिन्द्र महतोले बताए।

जिल्लाका शहरी तथा ग्रामीण भेगका बजारमा सबैखाले सामानमा निषेधाज्ञा हुनु अघिको खुद्रा मूल्य र त्यस पछिको मूल्यमा रु १० देखि सयसम्म बढाएर बिक्री भइरहेको पाइएको छ।

ग्रामीण भेगका व्यापारीहरूले बजारमा रिचार्ज कार्डको कमी भएको भन्दै रु ५० को रिचार्ज कार्डमा  रु पाँच र १०० को रिचार्ज कार्डमा रु १० थप गरेर लिने गरेको स्थानीय उपभोक्ताहरूको गुनासो छ। थोक बिक्रेताले सबैखाले वस्तुमा मूल्य बढाएका कारण सानातिना खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनुपरेको व्यवसायीहरूको भनाइ छ। निषेधाज्ञाका बेला पनि सरकारले खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै रोक नलगाएको भए पनि ढुवानी र लोड–अनलोड गर्न मजदूरहरूको अभाव देखाएर थोक बिक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा बिक्रेताको भनाइ छ।

यसरी अस्वाभाविकरूपमा दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि भएको विषयमा जान्दाजान्दै सरोकारवाला तथा नियमनकारी निकाय अनभिज्ञ हुँदा निषेधाज्ञाले गर्दा रोजगार गुमाएका सर्वसाधारण विपन्न वर्ग महँगोमा खाद्यान्न किन्न बाध्य भएको स्थानीयवासी सुन्दरश्याम यादवले गुनासो गरे। उनका अनुसार लकडाउनसँगै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा स्थानीय निकाय, उद्योग वाणिज्य सङ्घ र जिल्लास्तरीय बजार अनुगमन समिति मौन बसेको सर्वसाधारणको आरोप छ।

स्थानीय सरकारसँग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने, कारबाई गर्ने र सङ्कटको बेला अत्यावश्यक वस्तुको अभाव हुन नदिने जिम्मेवारी तथा अधिकार रहे पनि सो अनुसारको काम गर्न स्थानीय सरकारले तादरुकता देखाएको छैन।

शहर बजारभन्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा खाद्यान्नलगायत सामग्रीमा मूल्य वृद्धि भइरहेको गुनासो बढेको छ। गत वर्ष पनि लकडाउनको समयमा यसैगरी मनपरी मूल्य वृद्धि भएको थियो। त्यो बेला पनि सरोकारवाला र नियमनकारी निकायले बजार अनुगमन, कारबाई तथा महँगी नियन्त्रणका लागि केही प्रयास नगरेको स्थानीय उपभोक्ताको गुनासो छ। अहिले पनि थाहा पाएर पनि थाहा नपाएकोजस्तो मौन बसेका छन्।

  यस्तो सङ्कटको बेला स्वास्थ्य समस्याबाट गुज्रिरहेका आम नागरिकलाई थप सङ्कटको भुमरीमा नपार्न यतिबेला प्रभावकारी बजार अनुगमनको आवश्यकता रहेकोले जिल्लाका २० वटै स्थानीय निकायले आआफ्नो स्तरबाट कालोबजारी र अस्वाभाविक मूल्य वृद्धि रोक्न कदम चाल्न जरूरी रहेको जानकारहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here