एउटा पौराणिक आख्यान छ, लक्ष्मी प्रह्लादपुत्र विरोचनमाथि प्रसन्न थिइन्। विरोचन गरीब–दीनदुःखीहरूलाई राज्यकोष नै रित्तिने गरी यथेष्ट दान दिन्थे। तर उनीसँग सधैं यसैगरी दान दिइरहने क्ष्Fमता भने घट्दैनथ्यो। एक दिन भगवान् विष्णुले लक्ष्मीलाई सोधे–यसरी किन धन दिइरहेकी छ्यौं ? लक्ष्मीले भनिन्–जसले दान दिन्छ, उसको कोष म कहिल्यै रित्तिन दिन्नँ। यो पौराणिक कथा हो। भगवदभक्तहरू मान्छन्, अरू पत्याउँदैनन्। तर यो कथाले दानशीलताको महत्वलाई दर्शाउँछ। आज कोरोनाको महामारी फैलिएको एक वर्ष भइसक्यो। बीचको समय सङ्क्रमण मत्थर हुँदाबाहेक, गरीब, अलपत्र परेका मानवको खाद्य समस्या समाधान गर्न वीरगंजमा थुप्रै संस्था जुर्मुराए। उनीहरूले निरन्तर खाद्यान्न र खाद्यपदार्थ आपूर्ति गरे र गरिरहेका छन्। आहारिसेहरू प्रश्न गर्छन्, कहाँबाट ल्याएर यतिका सहयोग गरिरहेका छन् ? पक्कै गलत कामबाट कमाएको पैसा होला। हृदयहीनले लक्ष्मीको करामात बुझ्न सक्दैन। तर ती संस्थाहरूलाई लक्ष्मीरूप बनेर महानगरपालिकाले बेलाबखत सहयोग गरिरहेको छ भने महानगरपालिकालाई पनि सहयोग गर्ने लक्ष्मीपुत्रहरूले महानगरपालिकालाई सहयोग गरिरहेका छन्।
दानशीलताको थुप्रै कथा हाम्रा धार्मिक ग्रन्थहरूमा भरिएका छन्। ग्रन्थहरूमा दानशीलताको महत्व बुझाउन अतिक्रम गरिएको हुन सक्छ, जसको तात्पर्य दिनुको सार्थकता बुझाउनु मात्र हो। भनिन्छ दिएर घट्दैन। जुन कुवाँबाट जति पानी झिकिन्छ, त्यसको पानी त्यति नै सफा, शुद्ध र पेय हुन्छ। पानी नै नझिकिने कुवाँको पानी पेय हुँदैन। त्यसले विकार मात्र पैदा गर्छ। व्यक्ति वा संस्थाद्वारा यस्तो सङ्कटको बेला सहयोग गर्नु सांस्कृतिक पक्ष्F हो, यसमा अपनत्व हुन्छ। प्राविधिक सहयोग सभ्यताको द्योतक हुन्छ, यसमा आडम्बर हुन्छ, स्वार्थपूर्तिको भावना अन्तर्निहित हुन्छ। वीरगंजमा यसरी सङ्कटको बेला सहयोग पु–याउने जति पनि संस्थाहरू छन् तिनको कस्तै पनि निहितार्थ छैन। तिनले नामको प्रचार पनि चाहेका छैनन्। थाहा पाउनेले आभारस्वरूप तिनको नामको प्रचार गरिदिएको मात्र हो। कोरोनाले चेन बनाउँछ, अर्थात् एउटा कोरोना सङ्क्रमित व्यक्ति अर्को सद्दे व्यक्तिको सम्पर्कमा आउनासाथ अर्कोलाई पनि सङ्क्रमण सर्छ। यसको उपचार चेन तोड्नु हो। व्यक्ति–व्यक्तिबीच घर्षणात्मक सम्पर्क हुन दिइएन भने कोरोना सर्दैन। एकजनालाई लागेर समाप्त हुन्छ।
कोरोना रोग हो। यसले शृङ्खला बनाउन खोज्छ। मानिस–मानिसबीच सम्पर्क भइरहोस् भन्ने चाहन्छ। मानिसमा त रोगको विपरीत गुणधर्म हुन्छ। मानव शृङ्खला बन्न नदिन सरकारले लकडाउन–निषेधाज्ञा जारी गर्छ, तर यसको परिणामबारे सोच्दैन। धेरै मानिस छन्, जो दिनभरि काम गरेपछि परिवारको हातमुख जोर्ने सामल पाउँछन्। तर सङ्क्रमणको शृङ्खला तोड्ने क्रममा उनीहरू काम गर्न पाउँदैनन्। काम नपाएपछि माम पाउने कुरै भएन। यहीं यी मनकारी संस्थाहरूको महत्व उजागर हुन्छ। मानिसले पनि सहयोगको शृङ्खला बनाउनुपर्छ। यी संस्थाहरूलाई महानगरपालिकाले सहयोग गर्छ, महानगरपालिकालाई अन्यले सहयोग गर्छन्। यस शृङ्खलाले मानिस भोको बस्नुपर्दैन। भोको बस्न नपरेपछि उसले कामको खोजीमा भीड लगाउनुपर्दैन। यसरी एकले अर्कोलाई नथेग्ने हो भने भोको मानिस कस्तै पनि निषेधाज्ञा उल्लङ्खन गर्न तत्पर हुन्छ, जसको मूल्य समाजले ज्यानको क्ष्Fतिको रूपमा चुकाउनुपर्छ।