प्रस, वीरगंज, १८ जेठ/

वैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी निषेधाज्ञा लम्बिंदै जाँदा उल्लङ्घनका घटना पनि बढ्दैछन्।

वीरगंज महानगरपालिकामा स्थानीय प्रहरीले घण्टाघर क्षेत्रलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा गरे पनि त्यसबाहेकका ठाउँहरूमा केही दिनदेखि निषेधाज्ञा खुकुलो भएको छ भने प्रहरीले पनि वास्ता गर्न छाडेको छ। प्रहरीले अहिले घण्टाघर केन्द्रित सुरक्षा अभियान चलाएको छ। केही दिनदेखि सो ठाउँ भएर आवतजावत गर्ने सवारीसाधनलाई कडाइ गरेको छ तर महानगरका अन्य ठाउँमा  दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा छन् भने मानिसहरूको ओहोरदोहोर पनि उत्तिकै बढेको छ।

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन बारम्बार चेतावनी दिए पनि मुख्य सडकको मकालु होटलदेखि बिर्तासम्म जहिले पनि भीडभाड हुँदै आएको छ। त्यसबाहेक दोस्रो तथा तेस्रो सडकहरूमा पसल आदि नियमित सञ्चालन हुँदैछन्। मुख्य सडकमा पनि आदर्शनगरदेखि घण्टाघरसम्म पसलेहरू सटर बन्द गरेर फूटपाथमा बस्ने र ग्राहक आएपछि सटर खोलेर सामान दिने गरेका छन्।

एक साताको लागि वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा पटक–पटक गरी लम्ब्याउँदै जेठ २० गतेसम्म पु–याइएपछि अहिले वीरगंज महानगरका साथै पर्साका ग्रामीण क्षेत्रमा पनि निषेधाज्ञा उल्लङ्घन भइरहेका समाचारहरू आउन थालेका छन्।

यसै पनि ग्रामीण क्षेत्रका केही ठाउँमा शुरूदेखि निषेधाज्ञा फितलो थियो। अहिले झनै फितलो भएको छ। ग्रामीण क्षेत्रमा चार पाङ्ग्रेबाहेक साइकल, मोटरसाइकलको यात्रा निर्बाध छ। पोखरिया नगरपालिकामा बिहान ८ बजेपछि पनि सबैखाले पसल अघोषितरूपमा खुला छन्। व्यापारीहरू आधा सटर खोलेर बसेका हुन्छन्। नजीकै सुरक्षाकर्मीहरू घुमफिर गरे पनि पसल सञ्चालकहरूलाई कुनै रोकटोक गरेको देखिंदैन।

पर्सागढी नगरपालिकामा सबैखाले पसल निर्बाध सञ्चालनमा छन्। खाद्यान्न, लत्ताकपडासहित मदिरापसलहरू पनि पर्सागढी नगरपालिकामा सञ्चालनमा रहेका हाम्रा संवाददाता नरेश यादव बताउँछन्। शुरूदेखि नै पर्सागढीमा निषेधाज्ञा उल्लङ्घनका घटना भइरहेका छन्। बीचमा सङ्क्रमित देखिएपछि छिटपुटरूपमा पसलहरू बन्द भएपनि अहिले सङ्क्रमण कम भएपछि पुनः निर्बाध सञ्चालन भइरहेका छन्।

यता, भारतीय सीमासँग जोडिएका पर्साका ग्रामीण क्षेत्रहरूबाट मानिसहरू निर्बाधरूपमा खुला सीमाको फाइदा उठाउँदै भारतीय बजारमा किनमेल गरी फर्कंदैछन्। घरायसी सामानदेखि पर्व, उत्सवहरूका लागि सबै सामान भारतीय बजारबाट खरीद गरेर ल्याउने नेपाली उपभोक्ताले अहिले कोरोना सङ्क्रमण र निषेधाज्ञामा पनि यो कार्यलाई निरन्तरता दिएका छन्। लकडाउनको कारण भारतीय बजार बिहान ११ बजे खुल्ने गरेको छ। तर नेपाली उपभोक्ताहरू सो बजारमा एकाबिहानै पुग्ने र ११ बजेपछि सामान खरीद गरेर नेपाल फर्कने गरेका छन्।

सीमा क्षेत्रको मुख्य सडक आवतजावतको लागि बन्द गरिए पनि खुला सीमा भएको कारण अन्यत्रबाट मानिसहरू भारतीय बजार जाने र सामान खरीद गरेर आउने गरेका छन्।

ठोरी गाउँपालिकामा पनि निषेधाज्ञा उल्लङ्घनका घटना बढदैछन्। सार्वजनिक सवारीसाधन निषेधाज्ञाका कारण बन्द रहे पनि निजी सवारीसाधनहरू भने सञ्चालनमा छन्। अन्य पालिकाका मानिसहरू भने अहिले ठोरीमा निर्बाध प्रवेश गर्दैछन्। भारतीय नागरिकहरू पनि खुला सीमाको कारण आउने क्रम बढेको छ। ठोरी क्ष्Fेत्रमा भारतीयहरूले आँप, लिची, कटहर बगैंचाको ठेक्का लिएका छन् र अहिले सो प्रयोजनको लागि पनि भारतीयहरूको आवतजावत बढेको छ।

पालिकाका दुईवटा वडामा कडाइ गरिएको छ। वडा नं २ र ५ मा कडाइ भएपनि अन्य वडामा भने निषेधाज्ञामा लुकीछिपी सबै काम भइरहेका छन्। हाटबजार सञ्चालनमा छैनन् तर पसलहरू निर्बाधरूपमा सञ्चालन भइरहेका छन्।

यसैगरी, यो क्षेत्रसँग जोडिएको भारतीय बजारमा गएर सामान किन्ने क्रम पनि कम भएको छैन। दैनिक मानिसहरू भङ्गाहा, इनर्वा बजार जाने र आवश्यकता अनुसारका सामान खरीद गरेर ल्याउने गरेको हाम्रा ठोरी संवाददाता माधव तिमल्सिना बताउँछन्।

निषेधाज्ञा उल्लङ्घन गरेको कसूरमा वीरगंज महानगरपालिकामा सवारीसाधन र मानिसलाई दण्डित गरिंदैछ तर पनि उल्लङ्घनका घटना कम भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here