कोरोनाले जति हाहाकार मचाएको छ, सरकार त्यतिकै आत्मकेन्द्रित बन्दै गएको छ। न सत्ता, न प्रतिपक्ष्F कसैलाई यस महामारीको बेला जनताप्रति दायित्वको ठ्याम्मै वास्ता छैन। सरकार बेलाबेला बोल्दछ, कोरोनाप्रति सरोकार देखाएकोजस्तो गर्दछ, तर त्यो झाराटराईबाहेक केही साबित हुँदैन। किनकि सरकारले गर्न चाहेको भए, प्रतिपक्ष्Fीले सरकारलाई बाध्य पारेको भए, आजसम्म धेरै नागरिकलाई कोभिड–१९ विरुद्ध खोप लगाइसकिएको हुने थियो। जो सङ्क्रमित छन्, तिनको उपचारको राम्रो प्रबन्ध गरिसकिएको हुने थियो। स्वास्थ्य सचेतनाको अभावमा शहर, गाउँ, घरमा निर्धक्क घुमिरहेका मानिसको बाध्यकारी परीक्ष्Fण गरेर, कोरोनाको शृङ्खलामा रोक लागिसकेको हुने थियो। यति पनि गर्न सक्ने हुति सरकारमा नभएको त होइन। बितेको आर्थिक वर्षमा पूँजीगत र वस्तुगत खर्च थोरै मात्र भएको छ। त्यति रकमले देशका सबै अस्पतालहरूलाई व्यवस्थित बनाउन सकिन्थ्यो, दान नपाए पनि कोभिड खोप खरीद गर्न सकिन्थ्यो। तर निर्लज्जताको हद त तब देखियो जब खोप खरीद कार्यक्रम कमिशनको कारणले धरापमा प–यो।

तर सरकारले नगरे पनि मनकारी हातहरू, धेरैजसो पालिकाहरूले भने आफ्नो बुद्धि–बर्कतले भ्याएसम्म जनसेवा गरेका छन्, गरिरहेका छन्। सत्तामा बस्ने मानिस पनि यसै समाजका सदस्य हुन्, जुन समाजमा कसैमाथि आपत्विपत् आइपर्दा सयौं–हजारौं हात उठ्दछन्। तर सत्तामा गएपछि त्यो सहयोग र सद्भावको भावना लुप्त भएर स्वार्थ र विवादको भावना मात्र किन उकासिन्छ, नेपालको सन्दर्भमा बुझि नसक्नु भएको छ। आज एउटा संस्थाले आफ्नो शहरका बासिन्दाका लागि भारतबाट आवश्यक औषधि ल्याइदिन सक्छ, शहरमा कोही भोको नरहून् भनेर साँझ–बिहान नियमित भोजन उपलब्ध गराइदिन सक्छ, मास्क, सेनिटाइजरलगायत अक्सिमिटर, पिपिईजस्ता उपकरणहरू जुटाइदिन सक्छ भने सरकारले चाह्यो भने के गर्न सक्दैन ? आखिर जनताले दुःख पायो, ज्यान गुमायो भने बदनामीको भागीदार हुने त सरकार नै हो। त्यसपछि अबगालको भागीदार प्रतिपक्ष्Fले नै बन्नुपर्छ। र यिनैलाई निर्वाचनका बेला त्यसै जनताको सहयोगको दरकार पर्दछ, जसको उनीहरूले आज अवहेलना गरिरहेका छन्।

यस्तो अवस्थालाई हिजोअस्ति व्यवस्थाको दोष भन्ने आरोप लगाइन्थ्यो। तर अहिलेको नेपालको राजनीतिक व्यवस्था त विश्वकै अब्बल मानिने व्यवस्था हो। खोइ, किन जनताले सास्ती पाइरहेको छ। किन सरकार र प्रतिपक्ष्F अलिकति पनि चलमलाइरहेको छैन ? कोरोना महामारी हो भने आज महीनौंदेखि घरमा बन्दी बन्नुपर्ने अवस्था झन् ठूलो महामारी हो। किन सरकार एउटा महामारीको सामना गर्न अर्को महामारीको अवधान गरिरहेको छ ? के सत्तामा पुग्नेबित्तिकै सबै मानवीय संवेदना, सद्भावबाट तिनका हृदय रिक्त हुन्छन् ? कि यस्ता भावहरूको तिलाञ्जलि दिएर मात्र कोही नेता हुन्छ, सत्ताधारी हुन्छ, शासक हुन्छ ? त्यस्तो हो भने त दोष कुनै पनि राजनीतिक व्यवस्थाको होइन, व्यक्तिको हो। देखिएको पनि त्यस्तै छ। हाम्रा शासकहरूको अनुहारमा ढिपी, अहङ्कार, तुजुक छरपस्ट देखिन्छ। मानौं उपनिवेशकालीन गभर्नरका संस्करण होऊन्। सानैरूपमा भए पनि, महाअन्धकारमा जूनको टिलपिल नै भए पनि, मनकारीहरू जीवित छन्, परिस्थितिजन्य स्वार्थबाट टाढा बसेर सेवा गरिरहेका छन्। तिनको कार्य र समर्पणलाई साधुवाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here