राधेश्याम पटेल, परवानीपुर, १५ जेठ/
वैशाख १६ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी भएपछि बजारमा खाद्यान्न सामग्रीमा सबैभन्दा बढी मूल्यवृद्धि भएको वस्तु हुन्- खानेतेल र दाल । वीरगंजसँगै देशका अन्य ठाउँमा खानेतेल, दाल र चामलको मूल्य अचाक्ली वृद्धि भएर उपभोक्ता मारमा परेका छन् ।
कमजोर सरकारी अनुगमन तथा सम्बन्धित निकायको उदासीनताको कारण उद्योगी-व्यवसायीले खानेतेल, दाल र चामलको मूल्यवृद्धि गरी मालामाल भएको उपभोक्ताहरूको गुनासो छ । पोहोरको कोरोना महामारीमा तोरीको तेल रु १५० प्रतिलिटर थियो तर अहिले २ सय ५० मा बिक्री भइरहेको छ ।
सोयाबिन तेल गत वर्ष रु १४० प्रतिलिटरमा बिक्री भएको थियो । अहिले रु २४० प्रतिलिटरमा बिक्री भइरहेको छ । त्यसैगरी, सनफ्लावर गत वर्ष रु १५० प्रतिलिटरमा बिक्री भएको थियो भने अहिले प्रतिलिटर रु २६० मा बिक्री भइरहेको वीरगंजका खुद्रा पसलेहरूले बताएका छन् । वैशाखयता बजारमा खानेतेलको अभाव भएको बहानामा थोक विक्रेताले तेलको दाम बढाएका हुन् । वैशाखयता उद्योगी र थोक विक्रेताले नै प्रतिलिटर रु २० देखि ४० सम्म मूल्यवृद्धि गरेका छन्।
त्यसैगरी, दालको मूल्य पनि पहिलेको तुलनामा अस्वाभाविकरूपमा वृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । गत वर्ष मसुरको दाल प्रतिकिलो खुद्रामा रु १२० थियो भने त्यही दाल अहिले रु १४० पुगेको छ । रु १४० को रहर दाल अहिले रु १६० पुगेको छ । मासको दाल गत वर्ष रु दुई सय प्रतिकिलो थियो भने अहिले रु २२० खुद्रामा बिक्री बिक्री भइरहेको छ । त्यसैगरी, चामलमा कतर्नी किलोमा रु १० मूल्यवृद्धि भएको उपभोक्ताहरूले बताएका छन् । राम्रो खाले कतर्नी (जीरा मसिनो) चामल अहिले प्रतिकिलो रु ७० र दुई नम्बर प्रतिकिलो रु ६० मा बिक्री भइरहेको छ ।
बजारमा खाद्यान्न सामग्रीमध्ये खानेतेल र दालको मूल्य लगातार बढ्नुमा दुईवटा कारण छन् । एउटा कोरोना महामारीमा कच्चा पदार्थको मूल्य बढ्नु र अर्को उद्योगी-व्यवसायीको मनपरी । सरकारी पक्षले अनुगमन तथा मूल्य बढाउने उद्योगी-व्यवसायीलाई कारबाई नगरेपछि उद्योगी-व्यवसायीको मनोमानी बढेको उपभोक्ताहरूको गुनासो छ । एक वर्षमा एक लिटरमा सय रुपैयाँसम्म खानेतेलमा मूल्य बढ्नु जनता राज्यविहीन भएको उपभोक्ता हकहित संरक्षण मञ्च वीरगंजका अध्यक्ष अजित भुजेल बताउँछन् ।
वीरगंस्थित खाद्यान्न सामग्री उत्पादन गर्ने रूँगटा समूहका ओम चावो बिरो इन्डस्ट्रिज प्रालिका सञ्चालक सुरेश रूँगटा अन्तर्राष्ट्रिय बजारमा खानेतेल, दाल, गेंडागुडीको मूल्य बढेको बताउँछन् । कोरोनामा जोखिम लिएर महँगोमा कच्चा पदार्थ आयात गरी उद्योग चलाएको र खर्च जोडेर न्यायोचित मूल्यमा बिक्री गरेको बताउँछन् ।
निकै कम मुनाफा जोडिएको उनको स्पोष्टोक्ति छ । उनले उद्योगले खर्च काटेर १० देखि २० रुपैयाँभन्दा बढी मुनाफा नलिएको तर खुद्रा पसलेहरूले आफूखुशी उपभोक्ताको ढाड सेकिरहेको उनको आरोप छ । उनले भटमासको कच्चा तेल पहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिटन १५ सय अमेरिकी डलर थियो तर अहिले घटेर १४ सय डलर पुगेको छ । उनले पोहोर उद्योगले प्रतिलिटर १२५ रुपैयाँमा सोयाबिन तेल बेचेको थियो भने अहिले प्रतिलिटर रु २२० मा १३ प्रतिशत मूअक जोडेर बिक्री गरिरहेको बताए ।
त्यसैगरी, तोरीको कच्चा तेल पोहोर प्रतिटन १२ सय डलरमा आयात हुन्थ्यो भने अहिले १५ सय डलर पुगेको छ। पोहोर १७० रुपैयाँ प्रतिलिटर बेचेको सो तेल अहिले रु २४० मा बिक्री भइरहेको बताए । सनफ्लावरको कच्चा तेलको दाम बढेको छैन । गत वर्ष र अहिले प्रतिटन १५ सय डलर रहेको उनले बताए ।
गत वर्ष प्रतिलिटर रु १५० मा सनफ्लावर तेल बिक्री भएको थियो भने अहिले रु २४० मा मूअक जोडेर बिक्री भइरहेको छ । भारतले पाम तेलको निकासी रोकेपछि स्वदेशी बजारमा मात्र बिक्री हुन्छ । स्वदेशमा गत वर्षका उत्पादन अहिले पनि बिक्री भइरहेको उनले दाबी गरे । गत वर्ष रु ११० प्रतिलिटरमा पाम तेल बिक्री भएको थियो भने अहिले प्रतिलिटर रु १७५ मा बिक्री भइरहेको छ । पाम तेलको कच्चा तेल प्रतिटन ७ सय डलर थियो भने अहिले ११ सय डलर पुगेको उनले बताए ।
नेपालमा कतर्नी चामलको दाम बढ्नुमा नेपाली स्वदेशी उद्योग आंशिकरूपमा मात्र चलेका र भारतीय बजारबाट हुने अवैध पैठारी निषेधाज्ञाले कम भएपछि स्वदेशी बजारमा चामलको दाम बढेको बताइन्छ । दालको कच्चा पदार्थको दाम पनि अन्तर्राष्ट्रिय बजारमा बढेकाले मूल्य बढेको उद्योगीहरूको भनाइ छ ।
सोयाबिन तेल भारत निर्यात भएपछि नेपाली बजार प्रभावित भएको र विदेशबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्ने क्रम बढेपछि नेपाली बजारमा खानेतेलको अभाव भएकाले मूल्यवृद्धि भएको उद्योगीहरू बताउँछन् ।
मलेसिया, ब्रजील, अमेरिका, क्यानडाबाट भटमासको कच्चा तेल (क्रुड आयाल) आयातमा १० प्रतिशत मात्र नेपाल सरकारले भन्सार पैठारी महसूल लिने गरेको छ । जबकि भारतमा स्वदेशी किसानको उपजलाई प्राथमिकता दिन र उनीहरूको उपज महँगोमा बिक्री होस् भनेर भारत सरकारले आयातमा ४० प्रतिशत भन्सार महसूल निर्धारण गरेको छ । विदेशबाट कच्चा तेल आयात गरी नेपाली उद्योगले प्रशोधन गरी भारतमा निर्यात गर्दा निकासी कर शून्य छ । अर्को यहाँका उद्योगीहरूलाई फाइदा के छ भने निर्यात गर्दा तिरेको १० प्रतिशत भन्सार महसूल पनि फिर्ता हुन्छ । अर्थात् नेपाली स्वदेशी उद्योगले शून्य दरमा कच्चा तेल आयात गरी प्रशोधन गरी भारततर्फ पठाइरहेका छन् । तर त्यही तेल नेपालमा बिक्रीको लागि पठाउँदा आयात गरेको १० प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मूअकले गर्दा महँगो हुन्छ । अर्थात् उद्योगले २२० रुपैयाँमा भारतमा तेल निकासी गरिरहेको छ भने त्यही तेल स्वदेशमा बेच्दा लिटरमा ५० रुपैयाँ उद्योगलाई घाटा पर्न जान्छ । त्यसैले उद्योगीहरू स्वदेशमा खानेतेल बेच्नुभन्दा भारतको बिहार, उत्तर प्रदेश, पश्चिम ब·ाल, गुजरात, राजस्थानमा खानेतेल निर्यात गर्न अग्रसर छन् ।