प्रस, ठोरी, १५ जेठ/
निर्मल-ठोरी मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेका सामुदायिक वनका हेरालुहरूको जीवन बीमा भएको छ ।
तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा निर्मल-ठोरी मध्यवर्ती उपभोक्ता समितिले वन हेरालुहरूको रु ५ लाखको जीवन बीमा गरेको हो ।
सामुदायिक वनको संरक्षण र हेरचाह गर्दा आइपर्ने सम्भावित जोखिम तथा कोरोना सङ्क्रमणको अवस्थालाई ध्यान दिएर वन हेरालुहरूको कोभिडसहितको जीवन बीमा गरिएको निर्मल-ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको एकमात्र मध्यवर्ती उपभोक्ता समिति निर्मल-ठोरी मातहत सातवटा वन समूह छन् ।
प्रत्येक वन समूहको हेरचाह र संरक्षणमा खटिएका सातजनाको जीवन बीमा गरिएको अध्यक्ष बस्नेतले बताए । यस्तै, शनिवार निर्मल-ठोरी मध्यवर्ती उपभोक्ता समिति मातहतका सातवटै सामुदायिक वन हेरालुहरूलाई स्वास्थ्य र व्यक्तिगत सुरक्षा सामग्री पनि वितरण गरिएको छ ।
मध्यवर्ती उपभोक्ता समितिको कार्यालय ठोरी गापा-२ मा आयोजित कार्यक्रमबीच वन हेरालुहरूलाई प्राथमिक उपचार सामग्री, ट्र्याक सुट, झोला, जुत्ता र खाजा भत्ता वितरण गरिएको हो ।
कार्यक्रममा सरस्वती सामुदायिक वन समूहका अध्यक्ष कमलविक्रम तिमिल्सिना, वनशक्तिका अध्यक्ष विष्णु विष्ट, ओडारका अध्यक्ष तारा लामा, शिकारीवासका अध्यक्ष सूर्य थिङलगायतको सहभागिता थियो ।