राधेश्याम पटेल, परवानीपुर, १४ जेठ/
बिहार, पूर्वी चम्पारण अरेराजकी २५ वर्षीया सोनीकुमारी आइतवारदेखि आफ्नै घरमा डेढ वर्षको छोरासँग एक्लै बस्न बाध्य छिन् ।

वीरगंज-१४ सानोपिपरास्थित जनकपुर अस्थायी इजलास वीरगंजको भवन अगाडि पतिको अढाई धुरमा बनेको दुई तले भवनमा उनी छोरासँग बस्छिन् । घरमा अरू कोही छैन, खाद्यान्न सासूससुराले दराजमा बन्द गरेका छन्, ठूलो पिपरामा ठूली दिदीको घर छ, भतिजाहरूले खाने कुरा ल्याइदिन्छन् र खान पाउँछिन् ।

पति र ससुरा पक्षले उनलाई कुटपिट गरी यातना दिएपछि घरका दुईजना फरार छन् भने चारजना प्रहरी हिरासतमा छन् । उनलाई र उनका भाइ बिटु कुमारलाई कुटपिट गरेको आरोपमा पर्सा प्रहरी मातहतको वडा प्रहरी कार्यालय, श्रीपुरले गत शनिवार ५७ वर्षीय ससुरा मुनीलाल साह तेली, देवरद्वय २० वर्षीय दिवाकर साह र २२ वर्षीय प्रभाकर साह तथा २५ वर्षीयन नन्द अनिताकुमारीलाई सार्वजनिक मुद्दा र महिला हिंसा अन्तर्गत नियन्त्रणमा लिएको छ भने ३२ वर्षीय पति अनिलसाह तेली, ४८ वर्षीया सासू सुगन्धीदेवी फरार छन् ।

घटना शुक्रवार राति ९ बजेको हो । सोनीको कोठाबाट ससूराले सिलिङ पंखा झिकिदिएका छन् । मिटर बढी उठ्यो भनेर । डेढ वर्षे छोरा गर्मीमा सुत्न मान्दैन । त्यही भएर तलबाट टेबल पंखा लिन जाँदा सासूले मुख छाडिन् । “तेरो बाउसँग मागेर ल्या र सुत, दाइजो केही दिएन, सबै सुख भने तैंलाई चाहिने ?”

सोनी भन्छिन्-“त्यसपछि मलाई लाठी, मुक्का, लातले हाने । मेरो हातमा ७ वटा टाँका लागेको छ ।” भोलिपल्ट शनिवार माइतबाट भाइ बिटु कुमार आएर सोधपुछ गर्दा अपराह्न ४ बजे उसलाई पनि रडले हानेर टाउको फुर्टादिए । रगतले लतपत बिटुलाई समयमैं अस्पताल नपुर्‍याएको भए, ज्यानै जान्थ्यो ।”

गत २०१८ अप्रिल १९ अघि १४ लाख दाइजो लिएर साबिक पर्सा, कालिकामाई गापा सानो लक्ष्मीपुर, हाल वीरगंज-१४ सानो पिपरा बस्ने अनिलसाह तेलीसँग उनको मागी विवाह भएको थियो । विवाहको एक महीनापछि नै दाइजोको विषयमा पतिपत्नीबीच मनमुटाव शुरू भएको थियो । दाइजो ल्याइनौ, घरको कामधन्दा गर्न आउँदैन, तेरो बुवा बितेपछि आमा खराब महिला भइन् जस्ता बात लगाएर सोनीलाई यातना दिइन्थ्यो ।

डेढ वर्ष अघि यस्तै घरासयी विवादको क्रममा सोनीलाई उनको पति र ससुराले ज्यान मार्ने कोशिश पनि गरेका थिए । त्यस बेला कुटपिट गर्दा बेहोश भएकी सोनीलाई आफ्नै घरमा पंखामा पासो लगाएर मार्ने प्रयास गरेको सोनीका भाइ पर्ने अशोक साह बताउँछन् । सोनीलाई घरबाट बेदखल गर्न दुई वर्ष अघि पति अनिलले ५ लाख रुपियाँ लिएर बुवा र भाइहरूको सम्पत्तिमा उसको कुनै हक नभएको भनी अंशबण्डा पनि लिइसकेका छन् ।

जबकि गाउँमा तीन चार बिघा जग्गा ससुरा पक्षको रहेको सोनी बताउँछिन् । “मेरो अंश मार्न मेरो विवाह दर्ता र नागरिकता बनाइएको छैन”-उनी भन्छिन्-“अंशबण्डा छुट्याइएको छ, घरबाट कुटपिट गरेर भगाइएपछि पर्सा जिल्ला अदालतमा माना चामलको मुद्दा दिएपछि अदालतको आदेशमा पोहोर दशैंमा पतिको घरमा प्रवेश गरेकी थिएँ ।”

पति अर्कीसँग सल्केपछि घर बिग्रियो । अनिल वीरगंज जेलरोडस्थित फलफूलका थोक बिक्रेता हुन् । २८ वर्षीया एकजना विवाहित महिलासँग फसेर घर बिग्रन पुग्यो । पनिले मलाई छोडेजस्तै उनी पनि पति छोडेर वीरगंजमा छुट्टै भाडाको कोठामा बस्छिन् । महिलासँग उनका पतिको तीनजना सन्तान रहेको र उसको प्रेमजालमा परेर मेरो बिल्लिबाँठ लगाए ।
प्रहरीले अनुसन्धान गरिरहेकोले उनी आशावादी छिन् । उनले पति अनिल र ती महिलालाई नियन्त्रणमा लिएर कारबाई गर्न माग गरेकी छन् ।

पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले घटनाबारे अनुसन्धान जारी रहेको र दोषीलाई कानून बमोजिम कारबाई हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here