प्रस, परवानीपुर, १४ जेठ/
पर्सा प्रहरीले अवैध वित्तीय कारोबार (हुन्डी)को अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा, प्रसौनी गापा-६ घर भई हाल वीरगंज-८ विपिसी क्याम्पसनजीक डेरा गरी बस्ने २६ वर्षीय शिव आनन्द र वीरगंज-११ श्रीपुरका १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।
शिव आनन्द र जयसवालले हुन्डी कारोबार गर्ने गरेको पूर्वसूचना पाएपछि हिजो बिहान ११ बजे जयसवाललाई कालो झोला लिएर हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा रु २४ लाख बरामद भएपछि शिव आनन्दको डेरामा छापा मार्दा कालो झोलामा थप रु २९ लाख ८० हजार फेला परेको थियो ।
दुवैजनामाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार अनुसन्धान अघि बढाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए ।